पुस १७
चिनियाँ राष्ट्रपति सि चिनफिङले ताइवानको पुनः एकीकरणलाई कसैले रोक्न नसक्ने चेतावनी दिएका छन। नयाँ वर्ष २०२५ का अवसरमा राष्ट्रको नाममा गरेको सम्बोधनमा सिले ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रुपमा हेरेको उल्लेख गरेका छन ।
राष्ट्रपति सिले ताइवानलाई जसरी पनि एकीकरण गरेरै छाड्ने दृढता व्यक्त गरेका छन । सम्बोधनमा सिले गत वर्ष २०२४ मा चीनको कूल गार्हस्थ उत्पादन ‘जीडीपी’ एकसय ७० खर्ब ८० अर्ब अमेरिकी डलर नाघेको अनुमान गरेका थिए । नयाँ वर्ष २०२५ चीनले थप आर्थिक वृद्धिका लागि विभिन्न कार्यक्रम र नीति तर्जुमा गर्ने सिको भनाइ छ ।



चीनले विश्वका अन्य मुलुकलाई ताइवानसँग कूटनीतिक सम्बन्ध र सम्पर्क नराख्न अनुरोध गर्दै आएको छ । ताइवान मामिलालाई चीनले आन्तरिक मामिलाको रुपमा लिने गरेको छ । अमेरिकाले ताइवानबारे लिने गरेको चासोप्रति चीनले गम्भीर आपत्ति जनाउने गर्दछ ।
नेपालले ताइवान एकीकरणको विषयमा एक चीन नीतिप्रति दृढ समर्थन जनाउँदै आएको छ । सीमाना जोडिएको सिचाङ (तिब्बत) मामिलामा पनि नेपाल चीन सङ्गै छ ।



