भैरहवा भदौ २२
मारवाडी युवा मञ्च, भैरहवाले आइतबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रसुवामा पछिल्लो समय आएको बाढी तथा अन्य आकस्मिक परिस्थितिबाट प्रभावित बिरामीका लागि आवश्यक रगतको सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको मंचका अध्यक्ष रोहितकुमार अग्रवालले बताए ।
मारवाडी सेवा संघ, भैरहवाको परिसरमा आयोजित रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको आयोजकले जनाएका छन् । नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रम मार्फत संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा प्रयोग हुने बताइएको छ। मानवीय सेवा तथा सामाजिक कार्यमा लामो समयदेखि सक्रिय मारवाडी समुदायका विभिन्न संस्थाले रक्तदानलाई पनि सामाजिक उत्तरदायित्वका रुपमा अघि बढाउँदै आएका छन् । आकस्मिक दुर्घटना, बाढीपहिरो, शल्यक्रिया तथा विभिन्न रोगका कारण अस्पतालमा उपचाररत बिरामीलाई समयमै रगत उपलब्ध गराउन रक्तदान महत्वपूर्ण हुने चिकित्सकहरु बताउँछन् । एक व्यक्तिले गरेको रक्तदानले आवश्यकता अनुसार एकभन्दा बढी बिरामीको जीवन बचाउन सहयोग पुग्न सक्छ।




मारवाडी सेवा समिति, भैरहवाका अध्यक्ष श्रवण बेरिवालले मानवीय सेवाका लागि रक्तदान अत्यन्त महत्वपूर्ण रहेको बताउँदै विपद् तथा आकस्मिक अवस्थामा रगतको अभाव हुन नदिन नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले सामाजिक संस्थाहरुको सहकार्यमा गरिने यस्ता कार्यक्रमले समुदायमा सेवाभाव बढाउनुका साथै आवश्यक परेका व्यक्तिलाई समयमा रगत उपलब्ध गराउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।मंचका अध्यक्ष अग्रवालले कार्यक्रममा युवाहरु तथा स्थानीय नागरिकले स्वःस्फूर्त रुपमा रक्तदान गरेको जनाए । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यक्रम निरन्तर गर्दै जाने जनाए । आयोजकले रक्तदानप्रति नागरिकमा जनचेतना अभिवृद्धि गर्दै आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
कार्यक्रममा रक्तदान गरी जीवन बचाउने अभियानमा सहभागी हुन आम नागरिकलाई समेत आग्रह गरिएको थियो । मंचका महासचिव मोहित सेठियाले रक्तदान जीवन दान भएको बताउँदै आफूहरुले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको जनाए । यसपटक पनि विशेष परिस्थितिमा रक्तदान आयोजना गरिएको भन्दै सबै संघसंस्थालाई आफूले सक्ने ठाउँबाट सहयोग गर्न उनले अपिल गरेका थिए ।



