औद्योगिक तथा व्यवसायिक वातावरण नबनेको निजी क्षेत्रको गुनासो

२०८३ आश्विन २, शुक्रबार
पढ्ने समय : 2 मिनेट

भैरहवा असोज २
निजी क्षेत्रका प्रतिनिधि तथा उद्यमी व्यवसायीहरूले मुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । स्थायी सरकार र दुई तिहाइ नजिकको बहुमत रहे पनि निजी क्षेत्रले दिएका सुझाव तथा उठाएका विषय कार्यान्वयनमा सरकारले पर्याप्त ध्यान नदिएको उनीहरूको गुनासो छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघको ७३औँ स्थापना दिवसका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले आर्थिक गतिविधि चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुर वैद्यले निजी क्षेत्रले दिएका राय–सुझाव कार्यान्वयन गर्न सरकारले कन्जुस्याइँ गर्ने गरेको आरोप लगाए ।
…प्रधानमन्त्री र मन्त्रीहरूले हाम्रा कुरा सुन्नुहुन्छ, तर कार्यान्वयन गर्ने बेलामा निजी क्षेत्रले उठाएका विषयलाई कुनै मतलब गर्नुहुन्न,Ú उनले भने, …औद्योगिक तथा व्यावसायिक नीति, नियम र विनियमावली बनाउँदा वा परिमार्जन गर्दा निजी क्षेत्रको राय–सल्लाहअनुसार कार्यान्वयन गर्न सरकारले कन्जुस्याइँ गरेको छ ।Ú
राजधानीमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि महासंघले दिएका सुझावसमेत सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्न नसकेको वैद्यले बताए ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यवसायीको व्यवस्थापनका लागि महासंघले बजार व्यवस्थापनको योजना अघि बढाएको उनले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा ६–७ वटा बजार व्यवस्थापन गर्ने योजना रहेको छ । त्यसका लागि महासंघले करिब ८ देखि १० करोड रुपैयाँको परियोजना तयार गरेको उनले बताए ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले दुई तिहाइ नजिकको वर्तमान सरकारबाट आर्थिक गतिविधि चलायमान हुने वातावरण बन्ने निजी क्षेत्रको आशा र विश्वास गलत साबित हुने अवस्था देखिन थालेको बताए ।
मुलुकको औद्योगिक तथा व्यवसायिक क्षेत्र अहिले निकै कठिन मोडमा पुगेको दाबी गर्दै उनले यही अवस्था कायम रहे आगामी डेढ–दुई वर्षभित्र धेरै व्यवसायी घरबारविहीन हुने अवस्था आउन सक्ने बताए ।
महासंघका केन्द्रीय सदस्य तथा उद्योगी राजेश अग्रवालले मुलुकको औद्योगिक तथा व्यवसायिक क्षेत्रको अवस्था अहिले नाजुक रहेको बताए । व्यवसाय क्रमशः सुस्ताउँदै पलायनतर्फ उन्मुख भएको उनको भनाइ थियो ।
…उद्योग–व्यवसायमा यो अवस्था आउनु अहिलेको सरकार मात्र नभई वर्षौंदेखिका सरकार र समाजबाट गरिएको उपेक्षाको परिणाम हो,Ú उनले भने ।
पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए । निजी क्षेत्रको समस्या समाधान गर्न सरकारले नीतिगत सुधारसँगै लगानीमैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्यले भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित विपद्मा राहत तथा उद्धारका लागि निजी क्षेत्रले ठूलो सहयोग उपलब्ध गराएको बताए ।
होटेल संघ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि सरकारले अवलम्बन गरेको नीतिमाथि प्रश्न उठाए । सरकारको गलत नीतिका कारण नेपालको पर्यटन व्यवसाय धाराशायी हुँदै गएको उनको दाबी थियो ।
लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले हवाई तथा सडक सञ्जालको पूर्वाधारका हिसाबले भैरहवा र आसपासका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए । पूर्वाधार विकाससँगै लगानीको वातावरण बनाउन सके भैरहवा क्षेत्र आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र बन्न सक्ने उनको भनाइ थियो ।

युनिभर्सल शिक्षण अस्पताल भैरहवाका प्रबन्ध निर्देशक तथा स्वास्थ्य व्यवसायी खुमा अर्यालले पूर्वाधारका हिसाबले विगतको भैरहवा र अहिलेको भैरहवामा ठूलो परिवर्तन आएको बताए ।
विगतमा भएको मधेस आन्दोलनका क्रममा भैरहवा नाकालाई सुरक्षित राख्न सकिएकै कारण भैरहवा र आसपासका क्षेत्र औद्योगिक क्षेत्रका रूपमा विकास हुन सफल भएको उनले बताए । अहिले उपलब्ध पूर्वाधार र भौगोलिक अवस्थाको सदुपयोग गर्दै औद्योगिक तथा व्यवसायिक गतिविधि थप विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय