भैरहवा असोज २३
आगामी दशैँ, तिहार र छठ जस्ता चाडपर्व लक्षित गरी जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि, चोरी–लुटपाट, कालोबजारी र सवारी दुर्घटना न्यूनीकरण गर्दै आम नागरिकलाई भयरहित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन विशेष सुरक्षा रणनीति तयार गरेर लागू गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार यस अवधिमा जिल्लाभर आवश्यकता अनुसार १ हजार २ सय १५ जना प्रहरी परिचालन गरिनेछ । जिल्लामा उपलब्ध १ हजार १ सय ६५ जना प्रहरी छन् । त्यस बाहेक अपुग ५० जनशक्ति प्रदेश प्रहरी कार्यालयबाट माग गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको उनले जनाए ।
जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाउन विभिन्न स्थानमा कमाण्ड पोष्ट, पैदल गस्ती, चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे मोबाइल गस्ती, पिकेट ड्युटी, यात्रु सहायता कक्ष र हतियारसहितको क्रस पेट्रोलिङ सञ्चालन गरिनेछ । यस अवधीमा १५ प्रकारका रणनीतिक ड्युटीहरू तय गरेर लागू गरिएको डीएसपी चन्दले जानकारी दिए ।
जिल्लास्थित सीमा नाका र राजमार्गमा प्रहरीलाई …हाई अलर्टÚ अवस्थामा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले बताए । भारतसँग रुपन्देहीको ७२.२ किलोमिटर खुला सीमाना जोडिएको छ । त्यसैले जिल्ला भएर सीमा अपराध, चोरी–तस्करी, अवैध हातहतियार, पटाका तथा विष्फोटक पदार्थको ओसारपसार रोक्न बेलहिया, कालिदह लगायत १७ वटा मुख्य सीमा नाकामा चेकजाँच र संयुक्त गस्ती सञ्चालन गरिने उनले बताए ।
पूर्व–पश्चिम, सिद्धार्थ र हुलाकी राजमार्गका १० विभिन्न खण्डहरूमा २४ सै घण्टा हतियारसहितको क्रस पेट्रोलिङ र संयुक्त ट्राफिक चेकिङ सञ्चालन गरिने प्रहरीले जनाएको छ । चाडपर्वमा यात्रुहरूको चाप लक्षित गरेर भैरहवा बसपार्क, बुटवल बसपार्क, बेलहिया नाका, लुम्बिनी, कालीदह, गोलपार्क लगायत ९ मुख्य स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । सहायता कक्षबाट बढी भाडा असुली, टिकटमा ठगी र यात्रुमाथिको दुव्र्यवहार नियन्त्रण गरिने पनि एसपी शाहीले बताए ।
…चाडपर्वको मौका छोपी हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र खाद्य मिसावट रोक्न जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि, उद्योग वाणिज्य संघ र प्रहरीको संयुक्त टोलीले बजार अनुगमन गर्नेछ,Ú जिल्ला प्रहरीमा आयोजित पत्रकार सम्मेलनमा एसपी शाहीले भने, …प्रविधि, साइबर अनुगमन र विपत् व्यवस्थापनमा ध्यान दिनेछौं ।Ú
जिल्ला प्रहरीका अनुसार सुरक्षा योजनालाई अझ बढी प्रविधिमैत्री बनाउँदै बुटवल, भैरहवा, बेलहिया लगायत प्रमुख बजार र संवेदनशील चोकहरूका सीसीटीभी क्यामेरालाई जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रूमबाट २४ सै घण्टा निगरानी गरिने छ । …चाडपर्वमा डिजे वा धार्मिक गीत–संगीतका नाममा हुन सक्ने साम्प्रदायिक विवाद तथा सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरूमाथि निगरानी राख्न जिल्ला प्रहरीमा रहेको …साइबर–सोसल मिडिया अनुगमन डेस्कÚ सक्रिय बनाइएको छ,Ú प्रहरी प्रवक्ता चन्दले भने, …छठ पर्वका अवसरमा नदी, ताल तथा छठघाटमा हुन सक्ने डुबान र दुर्घटना रोकथामका लागि सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन टोली -गोताखोरसहित) र एम्बुलेन्स सेवालाई चौबीसै घण्टा …स्ट्यान्डबाइÚ राखिनेछ ।Ú
प्रहरीको मात्र प्रयासले चाडपर्व शान्तिपूर्ण र मर्यादित तुल्याउन सम्भव नभएकाले शान्ति सुरक्षा कायम गर्ने कार्यमा सघाउन नागरिकसित प्रहरीले अपिल गरेको छ । जिल्ला प्रहरीले चाडवाडका बेला घर छाडेर टाढा जाँदा छिमेकी वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन, जुवातास र अवैध मदिरा बिक्री–वितरणबाट टाढा रहन तथा कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्त प्रहरीलाई खबर गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । सादा पोसाकमा प्रहरी परिचालन गर्ने र बढी आर्थिक कारोबार हुने ठाउँमा निगरानी बढाउने प्रहरी योजना छ ।






