भैरहवा असोज ५
विश्वविख्यात हुन्डाई कम्पनीको उच्च प्रविधियुक्त नयाँ संस्करणको कम्प्याक्ट एसयूभी …अल न्यू भेन्युÚ गाडी भैरहवामा उपलब्ध भएको छ । भैरहवा क्षेत्रका लागि हुन्डाईको आधिकारिक विक्रेता जगत मोटर्स प्रालिले नयाँ मोडलको उक्त गाडी सोमबारदेखि औपचारिक रूपमा विक्रीका लागि बजारमा ल्याएको हो ।सोमबार भैरहवास्थित जगत मोटर्सको बिक्री कक्षमा प्रालिका अध्यक्ष राम थापा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले संयुक्त रूपमा नयाँ मोडलको उक्त गाडी सार्वजनिक गरेका थिए ।संघका अध्यक्ष आचार्यले नयाँ मोडलको गाडी बजारमा आएसँगै आर्थिक गतिविधि चलायमान हुने बताए । उच्च प्रविधियुक्त हुन्डाई कम्पनीका गाडी खरिद गर्न यसअघि पोखरा र काठमाडौं धाउनुपर्ने अवस्था रहेकोमा अब आफ्नै घरछेउमा उपलब्ध हुनुले भैरहवा तथा आसपासका जिल्लाका स्थानीय ग्राहकलाई सहज भएको उनले बताए ।

गाडी सार्वजनिक भएसँगै नयाँ पुस्ताको यो गाडी अब भैरहवा तथा आसपासका क्षेत्रका ग्राहकले प्रत्यक्ष अवलोकन तथा खरिद गर्न सक्नेछन् । नेपालका लागि हुन्डाई कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पश्चिम नवलपरासीको रामग्रामस्थित एसेम्ब्लिङ उद्योगबाट हुन्डाईका नयाँ गाडी तीनवटा भेरियन्टमा उत्पादन गरेको हो ।नयाँ मोडलका यी गाडी आरामदायी, अत्याधुनिक प्रविधियुक्त तथा बहुउपयोगी कार्यक्षमतायुक्त रहेको जनाइएको छ । यसको बाहिरी बनावटमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सी–पिलर गार्निसजस्ता विशेषता रहेका छन् । यी विशेषताले गाडीको लुक्सलाई थप आधुनिक र आकर्षक बनाएको कम्पनीको दाबी छ ।
सुरक्षालाई उच्च प्राथमिकता दिँदै यसमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल ,ईएससी, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट ,भीएसएम, तथा हिल–स्टार्ट असिस्ट कन्ट्रोल ,एचएसी, जस्ता सुरक्षा सुविधाहरू उपलब्ध रहेको जनाइएको छ ।बजारमा ल्याइएको …अल न्यू भेन्युÚ भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ भने एचएक्स टु भेरियन्टको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
जगत मोटर्सका प्रबन्ध निर्देशक रिश्चल थापाले विगत आठ वर्षदेखि जगत मोटर्स ग्राहकको सेवामा समर्पित रहँदै उच्च प्रविधि र गुणस्तरीय सेवालाई प्राथमिकता दिँदै आएको बताए । हुन्डाई कम्पनीद्वारा उत्पादित नयाँ भेरियन्टको गाडी ग्राहकसामु ल्याउने अवसरले थप उत्साहित बनाएको भनाइ राखेका थिए ।






