बीआरआई अन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक ः परराष्ट्रमन्त्री राणा

२०८१ मंसिर १५, शनिबार
पढ्ने समय : < 1 मिनेट

मसिर १५
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरू नेपालमा अनुदान स्वरुप अघि बढाउन चीन सरकार सकारात्मक रहेको बताएकी छन् ।
चीन भ्रमण सकेर शनिबार फर्किएकी परराष्ट्रमन्त्री राणाले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्ट अन्तर्गतका योजना अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन् ।
देशभित्रको परिस्थितिका कारण नेपालले ऋण लिन सक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पष्ट पारेको बताउँदै उनले भ्रमणमा दुई देशको पारस्परिक सम्बन्धलाई मजबुत बनाउने, भइरहेको कामलाई कसरी निरन्तरता दिने भन्नेबारेमा छलफल भएको बताइन् । व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ दुई देशको सम्बन्ध अघि बढाउने बारेमा छलफल गरेको उनले जानकारी दिइन् ।
हामीले पनि एक चीन नीतिमा सहयोग गर्ने प्रतिबद्धता जनायौँ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ’ट्रान्स हिमालयन मल्टी डाइमेस्नल कनेक्टिभिटी नेटवर्क रहेको छ, नेपालका बारेमा धेरै परामर्श भयो । यसलाई अगाडि बढाउने कुरा चल्यो । विभिन्न आयाममा विगतका प्रधानमन्त्री, परराष्ट्रमन्त्रीहरूको भ्रमणमा भएका आयोजनाहरूका बारेमा रिन्यु गर्नुपर्छ भन्यौँ । उहाँहरूले यसलाई सकारात्मक नै लिनुभयो ।’

नेपाललाई आन्तरिक गृहकार्य गरेर आउन पनि चीनले आग्रह गरेको राणाले बताइन् । ’कुन–कुन आयोजनामा सहयोग गर्ने हामी पनि छलफल गर्छौं भन्नुभयो । नेपालका तर्फबाट अहिले हामीले लोन लिन सक्ने अवस्थामा छैनौँ, हामी तपाईंहरूबाट अनुदान प्राप्त हुने आशामा छौँ भन्ने कुरा हामीले राख्यौँ । देशभित्रको परिस्थितिका कारण ऋण लिन सक्ने परिस्थिति छैन भन्ने कुरा उहाँलाई स्पष्ट राखेँ । उहाँले यो कुरा राम्रोसँग सुनिदिनु भयो । अब आउने भ्रमणमा यी कुराहरू अघि बढ्छन्,’ राणाले भनिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय