त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा ६० करोड खर्च गरिँदै २० करोड रुपैयाँ सहयोग गर्ने भारतको प्रतिबद्धता,

२०८१ जेष्ठ १८, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

जेठ १८
त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा ६० करोड रुपैयाँ खर्च हुने भएको छ । जसमा नेपाल सरकारको ४० करोड र भारतले २० करोड रुपैयाँ सहयोग गर्नेछ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्दै २० करोड रुपैयाँ भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन ।

‘क्यानसँगको सहकार्यमा भारत सरकार २० करोड सहयोग गर्न तयार छ,’ मन्त्री श्रेष्ठले भने, ‘सम्बन्धित निकायसँग वार्ता गरिरहेका छौँ, प्राप्त हुने आर्थिक सहयोग त्रिवि मैदानमा कसरी खर्च गर्ने र संरचना के–के बन्ने विषयमा छलफल भइरहेको छ ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका सचिव पारस खड्काले मन्त्री श्रेष्ठलाई मैदानमा भइरहेको कामबारे जानकारी गराएका छन ।

मन्त्री श्रेष्ठले मर्मत भइरहेको पिचदेखि नेट अभ्यास गर्ने क्षेत्रको निरीक्षण गरेका थिए । अहिले पिचको माथिल्लो भागको माटो निकालेर पुनः सम्याउने काम भइरहेको छ । आगामी नोभेम्बरसम्म त्रिवि मैदानमा कुनै अन्तर्राष्ट्रिय खेल नहुने भएकाले मैदानको स्तरोन्नति गर्न लागिएको क्यानका सचिव खड्काले बताए । ‘नोभेम्बरसम्म यहाँ अन्तर्राष्ट्रिय खेलको तालिका छैन, यस अवधिमा मैदानको स्तरोन्नतिमा लागेका हौँ,’ उनले भने ।
क्यानले ५–६ महिना कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका नभएकाले त्रिवि क्रिकेट मैदानमा विभिन्न संरचना बनाउन लागेको छ । प्यारापिट प्रवेशका लागि विभिन्न स्थानमा गेट राख्ने तयारी भइरहेको छ । आवश्यकताअनुसार विभिन्न सेक्सनमा फरक–फरक गेट व्यवस्था गर्ने तयारी भइरहेको सचिव खड्काले बताए ।

‘दर्शकहरू दुईवटा गेटबाट मात्र भित्र प्रवेश गर्छन्, आगामी दिनमा दर्शकलाई समस्या नहोस् भनेर हरेक सेक्सनका लागि फरक–फरक गेटको व्यवस्था गर्ने तयारीमा छौँ,’ उनले भने, ‘यसबाट दर्शकलाई आउन–जान सहज हुनेछ ।’ प्यारापिटको हरेक सेक्सनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय हुनेछन । यसअघि दर्शकले शौचालयको समस्या भोग्दै आएका थिए । ‘दर्शक बस्ने हरेक क्षेत्रमा महिला र पुरुषको शौचालय बनाउने योजनामा छौँ, अहिले प्राप्त गरेको पाँच महिनाको समय भनेको पर्याप्त हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय