पंचकन्या रूपन्देही सुपरलिगः प्रिन्स पाल चम्किँदा न्यु होराइजनको सहज जित

२०८३ बैशाख १९, शनिबार
पढ्ने समय : < 1 मिनेट

 

भैरहवा बैशाख १९
बलिङमा प्रिन्स पाल चम्किँदा न्यु होराइजन क्रिकेट क्लबले भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा सहज जित हात पारेको छ । होराइजनले बुटवल राइनोजलाई ७ विकेटले हराउँदै जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ५० ओभरमा २३ ओभर खेल्दै अलआउट भएर जम्मा ७६ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न न्यु होराइजनका प्रिन्स पालले ७ ओभर बलिङ गर्दै ३ मेडनसहित ६ रन खर्चेर ६ विकेट हात पारे । यस्तै, महेश भर र विप्रसन केसीले २–२ विकेट हात पारे । बुटवलका उत्तम थापा मगरले ३२ र शिव कुँवरले १५ रन बनाए । उसका अधिकांश खेलाडीले दोहोरो अंकमा रन बनाउन सकनेनन् भने ४ खेलाडी शून्य रनमै आउट हुँदा टिम धरासायी बन्यो ।
जवाफी ब्याटिङ गरेको न्यु होराइजनले १४ ओभर २ बलमा ३ विकेट गुमाएर ७७ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा संगम पाण्डेले अविजित २९, अमर मिश्राले २१ र ड्रस सुनारले १२ रनको योगदान गरे । बलिङमा बुटवल राइनोजका सुमित थापाले २ र प्रमिस पुनले १ विकेट लिए । खेलमा प्रिन्स पाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय