कार्तिक १५
रुपन्देही प्रहरीले लुम्बिनीमा लुटपाट गर्ने दुई जना भारतीयलाई हतियार सहित पक्राउ गरेको छ । असोज २३ गते साझ करिब ४ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ पर्सा महिलावारको नवजिवन स्कुल अगाडी दुई जनाले हतियार देखाई लुटपाट गरेको प्रहरीको आरोप छ ।
प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार लु५०प ७५९ नम्बरको मोटरसाईकलमा सवार रहेका लुम्बिनी साँस्कृतिक नगरपालीका वडा नम्बर ११ मोग्लाहामा रहेको लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीबाट १० लाख ९० हजार ) रुपैया लुटेका थिए । सो घटनाकै अनुसन्धानमा रहेको प्रहरीले कार्तिक १० गते उनीहरुलाई कोटहीमाई गाउपालिका वडा नम्बर १ सिपवाबाट पक्राउ परेको रेग्मीले बताए । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना चिलुवाताल पोष्ट मोहरीपुर ग्राम भगवानपुर बस्ने चालक २८ बर्षिय सुनील कुमार सहानी र भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना सहजनवा पोष्ट ग्राम घगसरा रिठुअखोर बस्ने वर्ष २६ को शशिकांत भट्ट रहेको रेग्मीले बताए ।
उनीहरुबाट प्रहरीले १ वटा भारतीय नम्बर प्लेटको मोटरसाईकल, एक वटा सेमी अटोमेटीक पेस्तोल, सो मा लाग्ने एक वटा म्याग्जीन, सोहीमा लाग्ने ५ राउण्ड गोली, घरेलु बनावटको कटुवा पेस्तोल एक वटा, कटुवा पेस्तोलमा लाग्ने गोली १ राउण्ड र मोबाईल तथा उनिहरुको परिचय पत्र बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई रुपन्देही जिल्ला अदालतबाट १० दिन म्याद थप भई अनुसन्धान भईरहेको रेग्मीले जानकारी दिए ।