भद्रपुर स्थित मेची नदी मा नेपाल र भारतका व्रतालुले सँगै मनाए छठ

२०७९ कार्तिक १३, आईतवार
पढ्ने समय : < 1 मिनेट

कार्तिक १३

सीमावर्ती मेची नदी किनार मा नेपाल र भारतका व्रतालु परिवारजनले एक साथ छठ पर्व मनाएका छन्।
नेपाल–भारतको सीमा नाकासँग जोडिएको भद्रपुर–५ स्थित मेची नदी किनारमा वारिपट्टि नेपाली समुदाय र पारिपट्टि भारतीय समुदायका व्रतालु परिवारजनले आइतबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ् चढाउँदै हर्सोउल्लासका साथ छठ मनाएका हुन्।
नदी किनारको मसानघाट देखि मेची पुलको मुख्यद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटर वारिपारि करिब ५ हजारभन्दा बढी पूजा स्थल (घाट) मा व्रतालु परिवारजनले पानीमा ओर्लिएर सूर्य भगवानको पूजा आराधना गरेका थिए।
मधेसी समुदाय बाहेक अहिले साझा पर्वका रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशी, लगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदा हजारौँ भक्तजनहरूको घुइँचो नै लागेको थियो।

मेची नदीमा छठ हेर्न देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि हजारौँ भक्तजन आएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए।

त्यस्तै मेची पुलमा फोटो खिचाउने र भिडियो बनाउने दर्शनार्थीहरूको भीड पनि त्यतिकै थियो। मेची किनारमा व्रतालु तथा भक्तजनहरूको सुरक्षाका लागि नेपाली प्रहरी र ट्राफिक प्रहरी गरी एक सय ५०, सशस्त्र प्रहरी ६० परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

जिल्लाको मेचीसहित निन्दा, हडिया, विरीङ, मावा, अदुवा, कनकाई लगायतको नदी किनारहरूमा व्रतालु तथा भक्तजनहरूको छठ पूजा स्थलमा समेत घुइँचो थियो।

भोलि बिहान सोमबार उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिँदै छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय