पञ्चकन्या रूपन्देही सुपरलिगः उपाधिका लागि खुकुरी र वेष्टर्न भिड्ने

२०८३ जेष्ठ ८, शुक्रबार
पढ्ने समय : 2 मिनेट

 

भैरहवा जेठ ८
लुम्बिनी खुकुरी क्लब र वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी … पञ्चकन्या रुपन्देही सुपरलिगÚको उपाधिका लागि भिड्ने पक्का भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा खुकुरीले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई ९० रनले हराउँदै फाइनल यात्रा तय गरेको छ । वेष्टर्न बिहीबारको खेलमा विजयी हुँदै फाइनल पुगेको थियो । यी दुई टीम शनिबार उपाधिका भिड्ने छन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको लुम्बिनी खुकुरीले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ५४ रनको बलियो योगफल खडा गर्यो । उसका लागि सन्दीप रजालीले ६९, शंकर रानाले ४७, निश्चल चौधरीले ४३, समीर अली मुसलमानले २४, शाह आलमले २३, सेजाद धोवीले १५ र सुजन रानाभाटले ११ रन जोडे । बलिङमा मेलवर्नका अशोक धामीले ४, दीपेश श्रेष्ठ र आरिफ अहमदले २–२ तथा रमेश कुर्मीले १ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको मेलवर्नले ३८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ६४ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि विपिन आचार्यले ५८, अस्मान थारुले २४, दीपेश श्रेष्ठले १७, मनिष थापा र संजय थापाले १४–१४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमको फाइनल पुग्ने लक्ष्य पूरा भएन । बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ४, शाह आलमले २ तथा दुर्गेश गुप्ता, बैतुल्लाह खान, शंकर राना र सुजन रानाभाटले समान १–१ विकेट लिए । खेलमा सन्दीप रजाली प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय