भारतीय पत्रकारले गरे प्रधानमन्त्री राहत कोषमा सहयोग

२०८३ भाद्र १७, बुधबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा भदौ १७
रसुवामा गएको बाढी पीडितका लागि भारतीय पत्रकारहरुले आर्थिक सहयोग गरेका छन् । भारतको उत्तर प्रदेशस्थित प्रेस क्लब अफ महाराजगंजले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५१ हजार रुपैयाँ जम्मा गरेको हो ।
महाराजगंज–सुनौली क्षेत्रमा कार्यरत पत्रकारहरुले उक्त रकम व्यक्तिगत रुपमा उठाएर नेपालमा आई प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको क्लबका अध्यक्ष अमित त्रिपाठीले जानकारी दिए ।
क्लबका अध्यक्ष अमित त्रिपाठी नेतृत्वको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई राहत कोषमा जम्मा गरेको रकमको भौचर हस्तान्तरण गर्दै आफूहरुका तर्फबाट सहयोगका लागि समन्वय गरिरहेको जनाए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले प्रेस क्लब अफ महाराजगंजमा आबद्ध पत्रकारहरुले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरेर सह्रानीय काम गरेको भन्दै आभार व्यक्त गरे । उनले भारतबाट नेपालमा राहत ल्याउँदा केही कुराहरुमा जानकारी नभएको पाइएको बताउँदै भारतीय पत्रकारहरुलाई प्रक्रियाबारे जानकारी दिएका थिए । उनका अनुसार भारतबाट राहत ल्याउँदा गृहमन्त्रालयको स्वीकृत लिनुपर्छ । मन्त्रालयले स्वीकृतका लागि सामानको नाम खुलाएर इमेल गरेमा भन्सार छुटका लागि भन्सार कार्यालय पठाउँछ, त्यसपछि भन्सार छुटमा राहात सामग्री नेपाल ल्याउन पाइन्छ । अर्यालले यो प्रक्रियाबारे भारतीय समुदायमा जानकारी दिन आग्रह गरेका थिए ।
अध्यक्ष त्रिपाठीले राहत ल्याउने प्रक्रियाबारे आफूहरुले संचार माध्यम मार्फत् जानकारी गराउने बताए । नेपालमा हालै आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरुले एकआपसमा रकम संकलन गरी प्रदान गरिएको जनाए । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको उनले कामना गरे ।

यसक्रममा भारतका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु जिल्ला प्रशासन आएका थिए । यस्तै, लुम्बिनी प्रेस क्लबका पदाधिकारीहरु पनि त्यहाँ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय