भैरहवा भदौ १७
हालै आएको बाढीका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहले बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
समूहले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति संवेदना व्यक्त गर्दै राष्ट्रिय राहत तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उपलब्ध गराएको हो । पञ्चकन्या समूहका अनुसार पञ्चकन्या ग्रुपमार्फत १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ भने पञ्चकन्या फाउन्डेसनमार्फत् आवश्यक पुनर्निर्माण सामाग्री नेपाल सरकारलाई उपलब्ध गराइनेछ ।
यसैगरी, समूहमा कार्यरत कर्मचारीहरूले पनि स्वेच्छिक रूपमा १५ लाख रुपैयाँ सहयोग गरेका छन् । समूहले विपद्का कारण प्रभावित नागरिकको पीडामा आफूहरू गम्भीर रूपमा संवेदनशील रहेको जनाएको छ ।
पञ्चकन्या समूह विगत साढे पाँच दशकदेखि नेपालसँगै अघि बढ्दै आएको उल्लेख गर्दै कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु र देशको राहत तथा पुनर्निर्माणमा सक्दो योगदान गर्नु आफ्नो जिम्मेवारी भएको जनाएको छ । यो औद्योगिक घराना यही भदौ १५ गते -सोमबार) स्थापना भएको ठीक ५५ वर्ष पुगेको छ । हरेक वर्ष वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्यक्रमसहित सेलिब्रेसन गर्ने समूहले यसपटक कुनै पनि कार्यक्रम गरेन ।
मुलुक नै शोकमा रहेको अहिलेको अवस्था कुनै उत्सवका कार्यक्रम नगरिने जनाइएको छ । ५५ वर्ष पुगेको अवसरमा प्रतिष्ठानले राहत सहयोग गरेको हो । यही अवसरमा उद्योगमा कार्यरत कर्मचारीहरुले पनि स्वस्फूर्त रुपमा रकम उठाएर सहयोग गरेका हुन् ।
समूहले विपद्को समयमा सहयोग र सहकार्यलाई निरन्तरता दिँदै प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणमा आफ्नो भूमिका रहने प्रतिबद्धता पनि जनाएको छ ।
नेपालको औद्योगिक विकासमा पञ्चकन्या समूह स्थापित नाम हो । समूहको औद्योगिक यात्रा सन् १९७१ मा झापामा पञ्चकन्या राइस मिल स्थापनासँगै सुरु भएको हो । यसको सुरुवात पञ्चकन्या समूहका संस्थापक प्रेमबहादुर श्रेष्ठको व्यवसायिक सोच र निरन्तर मेहनतबाट भएको समूहले जनाएको छ । प्रारम्भमा कृषि तथा व्यापारबाट अघि बढेको समूहले समयक्रमसँगै स्टिल, प्लास्टिक, रेडिमिक्स कंक्रिट, पानी ट्यांकी, संरचनात्मक स्टिल, प्रोफाइल लगायत निर्माण सामग्रीका विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ ।
रुपन्देहीको तिलोत्तमा–१५, कोटिहवामा रहेको पञ्चकन्या स्टिल समूहको महत्वपूर्ण औद्योगिक प्रतिष्ठानमध्ये एक हो । पञ्चकन्या स्टिल नेपालमा टीएमटी स्टिल बार उत्पादन गर्ने पहिलो कम्पनी भएको समूहको विवरणमा उल्लेख छ ।
व्यवसायलाई समयअनुकूल विविधीकरण गर्दै आएको पञ्चकन्या समूह आज निर्माण सामग्रीदेखि ऊर्जा तथा अन्य क्षेत्रमा समेत सक्रिय छ । साढे पाँच दशक लामो यात्रामा गुणस्तर, विश्वास, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अघि बढेको नेपाली औद्योगिक घरानाका रूपमा पञ्चकन्या समूहले आफ्नो छुट्टै पहिचान बनाएको छ ।
समूहले बाढी तथा अन्य कारणबाट रगत अभाव हुनसक्ने भन्दै बुधबार उद्योग परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । समूहका महाप्रबन्धक देवेन्द्र साहुले बुधबार बिहान खुल्ला रक्तदान आयोजना गरिएको जनाउँदै सबैलाई सहभागी भई पुण्य कमाउन आग्रह गरेका छन ।






