भैरहवा बैशाख २५
‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको शुक्रबारको खेलमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ । तिरुपतिले न्यू होराइजन स्पोटर्स क्लबलाई ४ विकेटले हराउँदै जीत हात पारेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित ५० ओभरमा २२ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर ७६ रनको झिनो योगफल खडा गर्यो । उसका लागि निर्मल गुरुङले २९ र विप्रसन केसीले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न तिरुपतिका अपराजित पौडेल र मोहम्मद हुसेनले ३–३ तथा तुलबहादुर थापाले २ र आकाश त्रिपाठीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपतिले १४ ओभर १ बलमा ६ विकेट गुमाएर ७९ रन बनाउँदै जित निकाल्यो । उसको जीतमा विजय प्रजापतिले २४, तुलबहादुर थापाले अविजित २० र सन्दीप मौर्यले १४ रन बनाए । बलिङमा न्यू होराइजनका निर्मल गुरुङले २ तथा अमर मिश्रा, विप्रसन केसी र महेश भरले समान १–१ विकेट लिए । खेलमा मोहम्मद हुसेन प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र पर्यटन व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।






