खुकुरी टी–ट्वान्टी कपः न्यु होराइजन र तिरुपति पनि पुगे सेमिफाइनल

२०८३ बैशाख १३, आईतवार
पढ्ने समय : 2 मिनेट

भैरहवा बैशाख १३
न्यु होराइजन स्पोटर्स क्लब र तिरुपति क्रिकेट क्लब पनि भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ को सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको खेलमा होराइजनले बुटवल युथ स्पोटर्स क्लबलाई १ सय २३ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस्तै, तिरुपतिले एमएसएमटी राम सीए गोरखपुरलाई ६ रनले पराजित गरेर सेमिफाइनल पुगेको हो । प्रतियोगितामा यसअघि लुम्बिनी खुकुरी क्लब र भरतपुर क्रिकेट एकेडेमी सेमिफाइनल पुगिसकेका छन्।
सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले ६ विकेट गुमाएर २ सय ९ रन बनायो । जसमा अमर मिश्राले १ सय २० रनको शतकीय पारी खेले । यस्तै, आरिफ खानले ४२, तुलबहादुर थापाले अविजित १३ र ड्रस सुनारले ११ रन बनाए । बुटवल युथका निराजन भट्टराईले २ तथा सन्तोष कौसल र अजय चौधरीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बुटवल युथले १५ ओभर १ बलमा सबै विकेट गुमाएर जम्मा ८६ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न होराइजनका प्रिन्स पाल र तुलबहादुर थापाले ३–३, निर्मल गुरुङले २ तथा आलिसन अधिकारी र सुरज खड्काले १–१ विकेट लिए । बुटवल युथका शिव कुँवरले २८, कृष्ण चापागाईंले १७, निजर भण्डारी र मनिष थापाले १२–१२ रन बनाए । अमर मिश्रा प्लेयर अफ द म्याच भए ।
यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले ६ विकेट गुमाएर २ सय १८ रनको बलियो योगफल बनायो । उसका लागि आकाश त्रिपाठीले ६६, सार्दुल त्रिपाठीले ६१, इमरान शेखले ५३, तुलबहादुर थापाले अविजित १७ र दिनेश बोहराले ११ रन बनाए । बलिङमा एमएसएमटी राम सीएका राहुल सिंह र सन्दीप मित्तलले २–२ तथा अभिशेक दुवेले १ विकेट लिए ।
प्रतिउत्तरमा एमएसएमटी राम सीएले ४ विकेट गुमाएर २ सय १२ रन बनायो । उसका लागि सन्दीप मित्तलले ७३, निखिल प्रतापले ५९, आदित्य पाण्डेले अविजित ४४ र आनन्द दुवेले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा तिरुपतिका रमेश कुर्मी, वीरबहादुर घर्ती, मोहम्मद हुसेन र नरेश साउदले १–१ विकेट लिए । खेलमा आकाश त्रिपाठी प्लेयर अफ द म्याच भए ।

लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई एक हजार ५ सय प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय