साउन ५
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । यी समझदारी पत्रमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन् ।भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १८३४ वर्गमिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुने छ। यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्ने विश्वास छ । त्यस्तै सिभिल अस्पताल विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ ।
यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । यसबाट १ हजार २७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ । यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्ने विश्वास छ। यही अवसरमा रसुवागढी–केरुङ्ग सिमापार ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी माइन्युटमा नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन।् यसबाट रसुवागढी–केरुङ्ग ट्रान्समिसन लाइन निर्माण सम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल–चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै नेपाल भ्रमण गरेकोमा सिड्का अध्यक्षलाई धन्यवाद व्यक्त गरे । साथै उच्चस्तरीय भ्रमणले दुईपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याउने विचार व्यक्त गरेका थिए ।अर्थ सचिव उपाध्यायले नेपाल–चीन सम्बन्धको महत्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संशाधन विकास र सिमापार विद्युत व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताको लागि फाइदाजनक हुने विचार व्यक्त गरे ।उनले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने विश्वास व्यक्त गरे ।साथै चिनियाँ प्रतिनिधिमण्डलले भोटेकोशी बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।






