ताक्लाकोट बैठक मा चिनियाँ पक्षबाट सुरक्षा समन्वय बढाउने र विकास सहायता गर्ने प्रस्ताव

२०८१ मंसिर ८, शनिबार
पढ्ने समय : 2 मिनेट

मसिर ८
कात्तिक २८ र २९ गते ताक्लाकोटमा आयोजित बैठकमा चिनियाँ पक्षबाट सुरक्षा समन्वय बढाउने र विकास सहायता गर्ने प्रस्ताव आएको छ । दार्चुला, हुम्ला र बझाङ जिल्लाका अधिकारीहरूसँग चिनियाँ पक्षले उक्त बैठकको आयोजना गरेको थियो । यसअघि ०७५ सालमा पहिलो बैठक राखिएको थियो ।
‘अहिलेसम्म ताक्लाकोटसँग सीमा जोडिएका दार्चुलाको टिंकर, बझाङको उरै र हुम्लाको हिल्सा नाकाबाट चीन वा तिब्बतविरोधी कुनै पनि गतिविधि भएका छैनन्, चिनियाँ पक्ष यो विषयमा अझै बढी सतर्क देखिन्छ’, एक जना नेपाली अधिकारीको भनाइ छ ।
तिब्बतको ताक्लाकोट र आसपास क्षेत्रबाट भागेर नेपाली नाका हुँदै भारत प्रवेश गर्नखोज्नेमाथि निगरानी राखिदिन पनि चिनियाँ पक्षले अनुरोध गरेको छ । दुर्ई महिनाअघि टिंकर नाका भएर आएका एक तिब्बतीलाई नेपाली सुरक्षाकर्मीले समातेर बुझाएका थिए । सीमानाकामा आवतजावत गर्ने सबै नागरिकको अभिलेख राख्ने गरिएको र निरन्तर चेकजाँचसमेत गरिएको इलाका प्रहरी कार्यालय टिंकरका इञ्चार्ज गणेशबहादुर बमले बताएका छन ।
नेपाल र चीन सरकारबीच सन् २०२४ देखि २०२८ सम्म विकास सहायता आदानप्रदानबारे समझदारी भएको जानकारी ताक्लाकोटको बैठकमा चिनियाँ पक्षले गराएको छ । ताक्लाकोटको सीमा बैठकमा चिनियाँ अधिकारीहरूले सुरक्षा निकायहरूलाई पनि वस्तुगत सहायता गर्न तयार भएको भन्दै माग प्रस्तुत गर्न भनेका थिए । तर नेपाली अधिकारीहरूले सरकारको स्वीकृति विना आफ्नोस्तरबाट कुनै पनि प्रकारको माग नगर्ने र स्वीकार गर्न नसकिने जानकारी दिएका थिए ।
कोभिड महामारीपछि नाका खोलिए पनि चिनियाँ पक्षले महिनामा एक–दुर्ई पटकमात्र आवतजावत गर्न दिएको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताएका छन । दार्चुलाको टिंकर नाकाबाट व्यापारीहरूको सामान ढुवानी पनि सहज हुन सकेको छैन । असार अन्तिम सातादेखि चार महिनासम्म टिंकर नाका खोलिए पनि नेपाली व्यापारीहरूले चारपटक मात्रै सामान ढुवानी गर्न पाएको व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताए।
टिंकर नाकामा नेपाल सरकारले अध्यागमन कार्यालय स्थापनाको निर्णय गरेको छ । आउँदो वर्षदेखि टिंकर नाका भएर कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने नेपाली पक्षले प्रस्ताव राखेको थियो । चीन सरकारले नेपाल–चीन सिमानाका टिंकर भञ्ज्याङसम्म सडक निर्माण गरिसकेको छ । दुर्ई देशको सीमा छुट्याउने १ नम्बर पिलरभन्दा दुर्ई सय मीटर परसम्म चिनियाँ सडक जोडिएको छ ।

१ किलोमिटरको दूरीमा चिनियाँ अध्यागमन कार्यालय निर्माण गरी सञ्चालन गरिएको छ भने दुर्ई किलोमिटर परबाट ताक्लाकोट बजार जोड्ने कालोपत्रे सडक बनेको छ । टिंकर नाकाबाट कैलाश मानसरोवर यात्रा सञ्चालनका लागि चीन सरकारसँग थप वार्ता र सहमति गर्नुपर्ने आवश्यकता रहेको दार्चुलाका प्रजिअ यज्ञराज जोशी बताउछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय