लुम्बिनी जेठ ११
बौद्ध संस्कृति तथा पुरातत्वको लागि महत्वपूर्ण चिनियाँ ग्रन्थ फु गो ची नेपाली भाषामा अनुवाद गरिएको छ । बौद्ध चिनियाँ तिर्थयात्री भिक्ष्ॉ फासियानले १६ सय वर्षअघि बौद्ध राज्यहरुको भ्रमण गरी त्यसको यात्रा विवरण लेखेका थिए । बौद्ध पुरातत्वको क्षेत्रमा यो महत्वपूर्ण ग्रन्थ दुर्लभ मानिन्छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले बेइजिङ लोङमिङह नेटवर्क कम्पनी, चीनको सहकार्यमा पुस्तक नेपालीमा अनुवाद गरेको हो । विश्वविद्यालयका सहप्राध्यापक डा. सागर न्यौपाने र सहायक निर्देशक चुरामणि पोखरेलले अनुवाद गरेको बौद्ध राज्यहरुको अभिलेख नामक पुस्तक सोमबार -११ जेठ २०८३) लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ ।
तिर्थयात्री फासियानको यात्रा विवरण लेखिएको अभिलेखकै आधारमा बुद्ध जन्मस्थल लुम्बिनी, शाक्यहरुको राजधानी तिलौराकोट, अस्तुधातु राखिएको स्थान रामग्रामका साथै भारतमा रहेका बौद्ध स्थलहरुको पुरातात्विक पहिचान भएको छ । अभिलेख फ्रेन्च, अग्रेजी र हिन्दी भाषामा अनुवाद गरिएको थियो । चिनियाँ लिपिबाट पहिलो पटक नेपालीमा अनुवाद गरिएको अनुवादक न्यौपानेले जानकारी दिए । …हामीले चीनको सिन, चिन, मिङ र छिङ वंशकालमा प्रकाशित चिनियाँ लिपिकै आधारमा अनुवाद गरेका छौं, उनले भने ।
पुस्तक विमोचन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले बौद्ध इतिहासमा फासियान र ह्वेनसाङ्गको दस्तावेजसहितको यात्राविवरण महत्वपूर्ण रहेको बताए । बौद्ध राज्यहरुको अभिलेख पुस्तकले अध्ययन अनुसन्धानमा संलग्न नेपाली अनुसन्धानकर्ताहरुलाई सहज हुने उनले बताए । फासियानले पुस्तकमा तत्कालिन बौद्ध राज्यहरुको सांस्कृतिक तथा आर्थिक अवस्थाका साथै बौद्ध स्थलहरुको विषयमा परिचर्चा गरेकाले नेपाली भाषामा अनुवाद हुनु महत्वपूर्ण कार्य रहेको उनले बताए ।सिल्करोड सांस्कृतिक कार्य कमिटी एवं चीन संस्कृति प्रवद्र्धन सोसाइटीका निर्देशक साङ्ची चसीले फासियानको पुस्तकले शब्दहरू मात्र होइन, सभ्यताको सम्झना र मित्रताको निरन्तरता पनि बोकेको बताइन् । सियानदेखि जुआनजाङसम्म, प्राचीन सिल्क रोडदेखि आजको बेल्ट एण्ड रोड इनिसिएटिभसम्म, चीन र नेपालले सांस्कृतिक आदानप्रदान मार्फत सधैं एकअर्कालाई उज्यालो पारेको भन्दै उनले लङमिङ्गह नेटवर्क टेक्नोलोजी कम्पनी लिमिटेडले यस अनुवादको प्रकाशनलाई सुरुवात बिन्दुको रूपमा प्रयोग गरेकोमा धन्यावाद दिए । त्यस्तै लङमिङ्गह नेटवर्क कम्पनीका निर्देशक जु यु ले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग थप चिनियाँ र नेपाली सांस्कृतिक क्लासिकहरूको पारस्परिक अनुवाद र प्रसारलाई प्रवद्र्धन गर्न काम जारी राख्ने आशा राखिन् ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार इन्द्रप्रसाद काफ्लेले बौद्ध संस्कृतिको पहिचान, अध्ययन अनुसन्धानमा यो पुस्तक महत्वपूर्ण हुने बताए । विश्वविद्यालयले निरन्तर रुपमा यस्ता महत्वपूर्ण ग्रन्थहरुको अनुवाद गर्दै जाने बताए ।
लुम्बिनी अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले फासियानको यात्रा विवरण बौद्ध इतिहासकै महत्वपूर्ण दस्तावेज भएको बताए । अनुसन्धान केन्द्रले यस्ता थुप्रै प्राचिन ग्रन्थहरु अनुवाद गर्ने काम जारी राखेको बताए ।
सोही अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ४० लाख रकमको फासियान तथा ह्वेनसाङ अनुसन्धान कोष स्थापना गरिएको छ । चिनियाँ दाताहरुको सहयोगमा यो कोष स्थापना गरिएको हो । सो कोषको रकम विश्वविद्यालयको योजना अनुसार अनुसन्धान कार्यमा खर्च गरिनेछ ।






