शुक्रबारदेखि ‘पंचकन्या रुपन्देही सुपरलिग’मा ‘ए’ डिभिजनका खेलहरू हुँदै

२०८३ बैशाख १७, बिहीबार
पढ्ने समय : 2 मिनेट

 

भैरहवा बैशाख १७
यस सिजनको ‘पंचकन्या रुपन्देही सुपरलिग’को दोस्रो चरणमा ‘ए’ डिभिजनका खेलहरु शुक्रबारदेखि भैरहवामा सञ्चालन हुने भएका छन् । यसअघि सुपरलिगको पहिलो चरणमा ‘बी’ डिभिजनका खेलहरु गत चैत १७ देखि ३० गतेसम्म संचालन भएका थिए ।
रुपन्देहीमा रहेका १२ वटा ‘ए’ डिभिजनका क्रिकेट टिमको सहभागिता रहने उक्त प्रतियोगितालाई ‘पंचकन्या रुपन्देही सुपरलिग’ नामाकरण गरिएको छ । आयोजक संस्था रुपन्देही क्रिकेट संघले बिहीवार भैरहवामा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता जेठ ९ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रायोजक रहेको पंचकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहु र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाबीच बिहीवार ‘टाइटल स्पोन्सर’का लागि सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।


पंचकन्या समूहका महाप्रबन्धक साहुले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहकार्य गर्ने क्रममा यस प्रतियोगितालाई साथ दिएको बताए । ‘पंचकन्या समूहले समाजमा खेलकुदको बिकासमा योगदान पुर्याउन सहयोग गर्ने उद्देश्य राखेको हो’, साहुले भने, ‘नेपाको क्रिकेटको विकासमा रुपन्देही क्रिकेट संघको महत्वपूर्ण योगदान रहेकाले सहकार्य गरेका हौं ।’ यसबाट आफूहरु उत्साहित रहेको उनले जनाए ।प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजनको खेल सञ्चालन गर्न १५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक संस्थाको छ । संघका अध्यक्ष थापाले अन्तर्राष्ट्रिय जगतमा नेपाल अब क्रिकेटको माध्यमबाट पनि परिचित हुन थालिसकेको जनाए । ‘रुपन्देहीमा क्रिकेट खेलको बढ्दो लोकप्रियता र गतिबिधिका कारण प्रतियोगिता संञ्चालन गर्न आर्थिक स्रोत जुटाउन सहज हुँदै जान थालेको छ’, थापाले भने, ‘ठूला ठूला क्रिकेट प्रतियोगिता सञ्चालन गर्न रुपन्देही क्रिकेट संघ आफै सक्षम हुँदै गएको छ ।’ रुपन्देहीको क्रिकेट विकासमा पंचकन्या समूहको योगदान अविस्मरणीय रहेको बताए ।
नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव एवं रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले ५० ओभरमा ‘ए’ र ‘बी’ डिभिजनका खेलहरु संचालन गर्ने रुपन्देही पहिलो जिल्ला भएको बताए । तीन दशकदेखि जिल्लास्तरमा निरन्तर हुने प्रतियोगिताको एतिहासिक महत्व रहेको बताउँदै मल्लले यसले खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पुर्याइरहेको सुनाए ।संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीका अनुसार प्रतियोगिताको विजेता टिमलाई १ लाख १ रुपैयाँ नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा उपबिजेताले ५० हजार १ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता पुरस्कार र बिके ज्वेलर्सले उपबिजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, टोल स्टार होलिडे, स्थानीय खेलप्रेमी रबिकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।
प्रतियोगितामा वेष्टर्न क्रिकेट क्लब, बुद्ध क्रिकेट क्लब, तिलोत्तमा क्रिकेट क्लब, जितगढी रोगल क्रिकेट क्लब, मेलवर्न क्रिकेट क्लब, लुम्बिनी खुकुरी क्लब, देवदह क्रिकेट क्लब, तिरुपति क्रिकेट क्लब, न्यु होराइजन क्रिकेट क्लब र बुटवल राइनोज क्रिकेट क्लबको सहभागिता रहने प्रतियोगितका संयोजक पराजुलीले बताए । जसमध्ये बुद्ध र देवदह यस अघि सम्पन्न ‘बी’ डिभिजनको प्रतियोगिताबाट बढुवा भएर ‘ए’ डिभिजनमा उक्लिएका क्लब हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय