प्रधानमन्त्री कप नेपाल पुलिस क्लब, सूदूरपश्चिम प्रदेश र मधेश प्रदेशको जित

२०८१ चैत्र ५, बुधबार
पढ्ने समय : 2 मिनेट

भैरहवा, चैत ६
नेपाल पुलिस क्लब, सूदूरपश्चिम प्रदेश र मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । बुधबार भएका तीन खेलमा पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी प्रदेश र मधेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जित निकालेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको झिनो लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ र अर्जुन साउदले १८ रनको योगदान गरे । बलिङमा गण्डकीका विपिन खत्री र सुवास भण्डारीले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रन बनाउँदा अलआउट भयो । गण्डकीका अर्जुन कुमालले ४८ तथा रोहित चन्द र सुवास भण्डारी समान १०–१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसका ललितकुमार राजवंशीले ५ विकेट हात पारे । उनले ५.२ ओभरमा ७ रन खर्चिएर । यसअघि ललितले एपीएफविरुद्ध ६, मधेशविरुद्ध ५ तथा सुदूरपश्चिमविरुद्ध ६ विकेट लिएका थिए । यस्तै, गुलशन झाले ४ विकेट लिए ।
यता रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाईलाई ५ विकेट हरायो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरणकुमार ठगुन्नाले नटआउट रहँदै सर्वाधिक ४३ रन जोडे । यस्तै, नारायण जोशीले अविजित २५ र प्रकाश पाण्डेले २२ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले २ तथा विप्रशन केसी, अजय चौहान र निर्मल गुरुङले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा अलआउट भयो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ र प्रज्वल थापाले ३० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले ४ तथा सौय श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले समान २–२ विकेट लिए ।
यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको जित हात पारेको हो । आर्मीले दिएको २ सय १८ रनको लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन जोडे । यस्तै, रुपेश सिंहले नटआउट ३८, हरिशंकर साह र पवन सरार्फ समान ३७ तथा शैलेन्द्र साहले १५ रन बनाए । आर्मीका नरेन साउदले ३ तथा सोमपाल कामी र बसिर अहमदले समान २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्की ३३, कुशल मल्ल २४, विवेक यादव १६, तृत राज दास १४, कप्तान विनोद भण्डारी ११ तथा बसिर अहमद १० रनमा आउट भए । मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान २–२ तथा रञ्जित कुमारले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय