पुस २७
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले देशमा अझै १०औं लाख मानिसहरू राज्यविहीन अवस्थामा रहेको बताएका छन् । पटक पटक बनेका सरकारले आफूहरूसँग सहमति र सम्झौता गरे पनि त्यसले पूर्णता पाउन नसकेको बताए ।
नागरिकता विधेयक अगाडि बढ्न नसकेकोमा पनि उनले आपत्ति जनाएका थिए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै शुक्लाले यस्तो बताएका हुन् ।
सांसद शुक्लाले जनताहरूले सरकारसँग धेरै अपेक्षा गरिरहेको तर दलहरू संसदीय खेलमा अलमलिन नहुने भन्दै सुझाव दिएका थिए । सत्ता पक्षले विभिन्न विचारलाई समेटेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
’सरकारले हुन्छ हुन्छ भन्दै टार्दै आएको छ । नागरिकताको समाधानको कुरा अध्यादेश मार्फत् आयो तर पूरा भएन । विभिन्न समयमा बनेका सरकारसँग सहमति र समझदारी गरियो तर नागरिकताको विषयले पूर्णता पाएन । सहमतिको कुरा पनि अन्तिम समयमा पुगेर ब्रेक लाग्यो,’ सांसद शुक्लाले भने ।
तर प्रधानमन्त्री पुष्पकमल दाहालले ६ महिनाभित्र नागरिकताको विषय समाधान गर्ने संकेत गरेको भन्दै त्यसप्रति आफूले विश्वास गर्ने उनको भनाइ थियो ।