असोज २३
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही–३ बाट राप्रपा बरिष्ठ नेता दीपक बोहराले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । लामो समयदेखि रुपन्देहीलाई राजनीतिक थलो बनाइरहेका राप्रपाका बरिष्ठ नेता बोहराले आइतबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् ।
उनलाई एमाले र जसपाको समर्थन रहेको छ । समर्थकसहित आफ्नो कार्यालयबाट उनी उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय आएका थिए । बोहरा गत निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । त्यतिबेला नेपाली कांग्रेसले उनलाई समर्थन गरेको थियो । गत निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार घनश्याम भुसालसित बोहरा पराजित बनेका थिए ।



यसपटक उनको प्रतिष्पर्धा पूर्व सहयात्री दल काँग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री खाँणसित हुन लागेको हो । पटकपटक मन्त्री भएका बोहराले यसपटक आफू भारी मतले विजयी हुने विश्वास व्यक्त गरे । यहाँ प्रदेशतर्फ ३ (क) मा जसपाका महेन्द्र यादव र ३(ख) मा एमालेका तुलसीप्रसाद चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।



