जेठ १२
घोराही उपमहानगरपालिका –१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविका लागि भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन शुक्रबार उद्धघाटन गरिएको छ ।
भारतीय राजदुताबासका प्रथम सचिव अविनाशकुमार सिंहले भवन उद्घाटन गरेका हुन् । सिंहले युवाको शिक्षा प्रतिको आकांक्षा पूरा गर्न र दुरदराजका नागरिकको जीवन बलियो बनाउन सहयोग पुर्याउने उद्देश्यले भारत सरकारले यस प्रकारको सहयोग प्रदान गर्दै आएको बताए । एचआईसीबी परियोजना मार्फत भारतले नेपालको विकास साझेदारीमा सन् २००३ सालदेखि काम गर्दै आएको र यसको प्रभाव अलग उचाईमा पुगेको महसुस आफुहरुले गरेको बताए । उनले विकास साझेदारीका माध्यमबाट अझ परियोजनामा सहकार्य हुने विश्वास दिलाए ।
उनका अनुसार, लुम्बिनीमा ६१ वटा विद्यालयमा यस प्रकारको सहयोग भईसकेको छ । दाङमा ६ विद्यालयको पूर्वाधारमा लगानी, ५ वटा स्कुल बस सहयोग गरेको जानकारी गराएका थिए । उनले शिक्षा,स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको बताए । प्रदेशभर १ हजार ९ वटा एम्बुलेन्स, ३ सय वटा स्कुल बस प्रदेश भर सहयोग भएको पनि उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत विविध क्षेत्रमा भारत सरकारले प्रदान गर्दै आएको सहयोगबाट नेपाल र नेपालीको जीवन बदल्न सहयोग मिलेको बताए ।
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले दक्ष जनशक्ति उत्पादनमा लागेको विद्यालयको भौतिक पूर्वाधार विकासमा भारत सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताए । भारतीय शिक्षकले दाङमा आएर अध्यापन गरेको स्मरण गरे । आगामी दिनमा पनि सहयोग रहने अपेक्षा गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले शैक्षिक उन्नयनका लागि प्राप्त भएको विद्यालय भवनको सही सदुपयोग हुनुपर्ने बताए । विद्यालयलाई यसप्रकारका सहयोगबाट थप शैक्षिक गुणस्तर कायम गर्दै अघि बढ्न सुझाव दिए ।
भारत सरकारको २ करोड ६८ लाख लागतमा २०६४ मा शिलान्यास भई २०६६ मा सम्पन्न भएको उक्त विद्यालयको करीव १७ वर्षपछि उदघाटन गरिएको छ । हाल उक्त भवनमा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन र शिक्षा संकायका २ हजार ५ सय बढी विद्यार्थीले पठनपाठन गर्दै आएका छन् । जसबाट शैक्षिक क्रियाकलाप गर्न विद्यालयलाई निकै सहयोग पुगेको छ ।
सो अवसरमा विद्यालयले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गरी सहयोग गरेको भन्दै दुताबासलाई सम्मान गरेको छ । विद्यालयले विद्यार्थीको चाप बढ्दै गएकाले थप पूर्वाधार र विद्यालय बसको सहयोगसहितको प्रस्ताव पनि दुताबासलाई बुझाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास चौधरी, विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत, सहायक प्रधानाध्यापक दुर्गा पाण्डेले पनि बोलेका थिए । यसैबीच, शुक्रबारै लमही नगरपालिका –४ बनगाउँस्थित बालजनता माविमा निर्मित भवनको पनि उद्घाटन गरिएको छ ।
१ करोड ५९ लाखको लागतमा २०६३ पुस ६ गते शिलान्यास भई २०६६ सालमा सम्पन्न भएको ३७ कोठे विद्यालय भवनको भारतीय राजदुताबासका प्रथम सचिव अविनाशकुमार सिंहले उद्घाटन गरेका थिए ।