पुस २०
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित भवनको आज उद्घाटन गरिएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री एनपी साउदले त्रिविको घडी घर अगाडिको नवनिर्मित भवनको शुभारम्भ गरेका हुन्।
भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन्। त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन्।
नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम)समेत जडान हुनेछ। पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको छ।
विसं २०७७ मा पुस्तकालय भवन निर्माण सुरुवात भएको थियो। पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत रहनेछ।