कार्तिक ९
नेकपा (एमाले) का महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले गुमेको जमिन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमालेविरुद्ध घेराबन्दी गरिएको बताएका छन् ।
अम्माखोली साँस्कतिक परिवार तुलसीपुर उपमहानगरपालिका – १८ ले आयोजना गरेको भैलो कार्यक्रमको मङ्गलबार सुरुआत गर्दै पोखरेलले यस्तो बताएका हुन् । ‘गुमेको जमिन समेटेर एमाले नेतृत्वको सरकारले चुच्चे नक्सासहित देशको नक्सा जारी गरेर राष्ट्रहितको काम गर्यो,’ महासचिव पोखरेलले भने, ‘जनता र राष्ट्रहितका काम गर्दा एमालेविरुद्ध गठबन्धन गरिएको छ । यो गठबन्धन राष्ट्रहितमा छैन र यसले जनता र राष्ट्रहितमा काम पनि गर्दैन ।’



गठबन्धन स्वार्थहरुको झुण्ड भएकाले जनसरोकारका विषयमा गठवन्धन सरकार बेखवर भएर बसेको उनले बताए । ‘सत्ता स्वार्थसिद्धिका लागिमात्रै गठबन्धन बनेको हो । नत्र देशको विकास र समृद्धिको अवस्था फरक भइसक्थ्यो,’ उनले भने– ‘यसको प्रमाण किसानले चाहिएको बेला मल नपाउनु, महङ्गी दोब्वर बढेर जानु र देश आर्थिक सङ्कटतर्फ धकेलिनुु नै हो ।’



