असोज ३१
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशबविक्रम खड्काले स्वतन्त्र उम्मेदवारलाई जिताएर देशहीतमा काम गर्न मतदातालाई आग्रह गरेका छन् । उनले मुलुकमा भ्रष्टाचार व्याप्त भएको र नेताहरु विदेशीको इशारामा चल्दा मुलुकको अर्थतन्त्र ध्वस्त हुनुका साथै जनजीविका कष्टकर भएको बताए ।
क्षेत्र नम्बर ३ अन्तर्गतका उचमी, टिकुलीगढ, बुटवल उपमहानगरपालिका को वडा नम्बर १४ लगायतका स्थानमा मतदातासँगको भेटघाटमा स्वतन्त्र उम्मेदवार खड्काले भ्रष्ट र मुलुकको हीतविपरीत काम गर्ने नेताहरुलाई दण्डित गर्ने सही समय मंसिर ४ भएको बताए । उनले स्वतन्त्र उम्मेदवारलाई जिताउनु भनेको देश बचाउनु भएको जनाए ।



मतदाताले स्वतन्त्र उम्मेदवार खड्कासँग नेताहरु पाँच वर्षमा एकचोटी निर्वाचनका बेला मात्रै भोट माग्न आउने गरेको तर विकास निर्माण र स्थानीयको समस्याका बारेमा कहिल्यै ध्यान नदिएको बताएका थिए । सडक लगायतका पूर्वाधार विकास र किसानले समयमै मल नपाउँदा आफूहरु मर्कामा परेको भन्दै स्थानीयले खड्कासँग निर्वाचित भएपछि यस विषयमा ध्यान दिन आग्रह गरेका थिए ।
खड्काले आफू क्षेत्र र देश विकास गर्ने उद्देश्यसहित निर्वाचनमा होमिएकाले विश्वस्त भएर आफ्नो निर्वाचन चिन्ह क्रस खुकुरीमा मतदान गर्न आग्रह गरे ।
स्थानीयले आफूसँग प्रदेश संरचना खारेज गर्ने अभियान संचालन गर्न मागसमेत गरेको खड्काले बताए । भैरहवाका सफल उद्योगी खड्का मुलुक बनाउने र बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्ने भन्दै स्वतन्त्र उम्मेदवार बनेका छन् ।



