असोज २९
गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइने बताएका छन् । उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरहरु मा समेत स्थानीयले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने जनाएका छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयले योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए ।
गृहमन्त्री खाँणले विमानस्थल ले यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको जनाउँदै यहाँ हुने हरेक गतिविधिसँग स्थानीयलाई जोडेर आत्मनिर्भर र रोजगार रत बनाउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।



गृहमन्त्री खाँणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यता अनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध पनि रहेको र यसबारे आफूले गौतमबुद्ध विमानस्थलका प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा पनि गरिरहेको उल्लेख गरे । त्यस्तै बिमानस्थलमा कार्गो सचांलनका लागि पहल भैरहेको भन्दै उनले कार्गो संचालनमा आएपछि यहाँको कृषि तथा औद्योगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुुर्याएर स्थानीयलाई रोजगारी बढाउने योजना सरकारको रहेको जनाए ।
अर्को प्रशंगमा मुलुकका प्रधानमन्त्री, मन्त्री, प्रशासक, सुरक्षा निकाय जनाताका सेवक भएकाले सदैव जनताको सेवामा लाग्नु पर्ने गृहमन्त्री खाँणले बताए । उनले सरकारले हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी सरकारले लिने जनाउँदै ढुक्क भएर मुलुकको विकासमा आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । खाँणले लोकतन्त्र र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन बनेको बताए ।
रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार पाण्डेयले वर्तमान गठबन्धन पवित्र भएकाले यसले संविधान, लोकतन्त्र, संघीयताको रक्षा गर्दै मुलुकको समग्र विकासमा लाग्ने बताए । उनले गौतमबुद्ध विमानस्थलमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिन पहल गर्ने जनाए । उनले हरेक सुखदुःखमा आफू स्थानीयसँगै रहेकाले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भारी मतले जिताउन अपिल समेत गरे ।



