भैरहवा असोज ६
रुपन्देहीको भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । अन्डर–१९ एक दिवसीय प्रतियोगिताको छनोट अन्तर्गत आइतबार भएको खेलमा रुपन्देही यु–१९ टिमले पश्चिम नवलपरासी यु–१९ टिमलाई ५ विकेटले पराजित गर्दै जित निकालेको छ
सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ३७ रनको सामान्य योगफल खडा गर्यो । उसका लागि ओमकार यादवले ३१, ड्रस सुनारले ३०, दिलसाद अली र शिशिर थापा क्षेत्रीले समान १४–१४, शैलेन्द्र यादवले १३ र सम्राट भुसालले १० रन जोडे । बलिङमा रुपन्देहीका सुमित पराजुली, लक्ष्मण कुमाल र सन्तोष यादवले २–२ तथा रमेश कुर्मी र अमर मिश्राले समान १–१ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको रुपन्देहीले ३३ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय ४१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सन्तोष यादवले अर्धशतकीय पारी खेल्दै ५४ रनको महत्वपूर्ण योगदान दिए । यस्तै, समीर अलीले ३७ र अमर मिश्राले १७ रन जोडे । बलिङमा नवलपरासीका ओमकार यादव र शिशिर थापाले समान २–२ तथा निराजन भट्टराईले १ विकेट लिए । रुपन्देहीका सन्तोष यादव म्यान अफ द म्याच घोषित भए ।
अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय टिम छनोट गर्न प्रत्येक जिल्लाको फरक–फरक टिम बनाएर छनोट खेल सुरु गरिएको प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए । उनका अनुसार छनोट खेलपछि उत्कृष्ट खेलाडीलाई समेटेर लुम्बिनी प्रदेश स्तरीय यु–१९ क्रिकेट टिम घोषणा गरिने छ ।