लुम्बिनीमा रिर्सोट बनाउन दिने निर्णयको होटल व्यवसायीद्वारा विरोध

२०७८ माघ ४, मंगलवार
पढ्ने समय : 2 मिनेट

 

३ माघ
लुम्बिनी विकास कोषको जग्गाभित्र गुरुयोजना विपरीत रिसोर्ट बनाउन दिने प्रक्रियाको लुम्बिनीका होटल व्यवसायीले विरोध जनाएका छन् । पर्यटन मन्त्री प्रेम आलेको दबाबमा लुम्बिनी बिकास कोषभित्र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी संसारा वेलनेस कम्पनीलाई रिर्सोट सञ्चालनका लागि जग्गा दिने निर्णयको व्यवसायीले विरोध जनाएका हुन् ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री आलेको अध्यक्षतामा पुस २० गते लुम्बिनीमा बसेको बैठकले संसारालाई कोषभित्र रिसोर्ट संचालन गर्न दिने निर्णय गरेको समाचार श्रोतको दावी छ ।

संसारा वेलनेसले लुम्बिनी ग्रामस्थित श्रीलंकन पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो ।

संसाराले गरेको प्रस्तावमा मेडिटेसन सञ्चालन गर्ने, मेडिटेसनको लागि आउने पाहुनाहरुको आवासको लागि रिसोर्ट सञ्चालन गर्ने उल्लेख गरिएको समाचार विभिन्न सञ्चार माध्यममा आएका छन्, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले भने, ‘यसको सत्यतथ्य तत्काल बाहिर ल्याइयोस् ।

संघले सोमबार लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै लुम्बिनीलाई कोषका पदाधिकारी र केही स्वार्थ समुहले आफ्नो कब्जामा लिएर लुम्बिनीलाई दुरुपयोग गरेको बताएका छन् ।

संघले गुरुयोजनाविपरीत लुम्बिनीमा रिर्सोट बनाउन नहुनेमा जोड दिएको छ । ‘लुम्बिनी विकास कोषका पदाधिकारीले स्थानीयलाई सधै उपेक्षा र अवहेलना गर्ने गरेको छ, कोषलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।’ विश्व शान्तिको मुुहान लुम्बिनीको विकासका लागि लुम्बिनीका स्थानीयको ठूलो सहयोग भए पनि कोषले भने स्थानीयलाई सधै उपेक्षा गर्ने गरेको होटल व्यवसायीको गुनासो छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी भिक्षु मेत्तेयको सहमतिविपरीत मन्त्री आलेले संसारा वेलनेसलाई जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै सिधै विकास कोषको बैठकमा पेश गरिएको श्रोतको दावी छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय संसारा वेलनेसले प्रस्ताव गरेको क्षेत्र क्याम्पियन ग्राउण्ड रहेकोले त्यसलाई रिसोर्ट सञ्चालनको लागि दिन नहुने पक्षमा उभिएका छन् । तर रिसोर्टका लागि विकास कोषको जग्गा दिन नहुने भन्दै अडान राख्दै आएका मेत्तेयलाई नै नबोलाई विकास कोषका पदाधिकारी र सदस्यहरुको गत मंसिर ११ गतेको बैठकले रिसोर्ट सञ्चालनको लागि जग्गा दिने निर्णय गरेको हो ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराज शाक्यले संसारा वेलनेस नामक कम्पनीलाई जग्गा दिई नसकिएको तर मेडिटेसन संचालन गर्ने र मेडिटेसन गर्न आउनेहरुलाई बस्ने सुविधासहितको रिसोर्ट सञ्चालनका लागि प्रस्ताव पेश गरेकोले त्यसको विस्तृत परियोजना माग गर्ने निर्णय गरिएको जानकारी दिए ।

लुम्बिनी होटल संघ नेपालले लुम्बिनी विकास कोष, लुम्बिनीलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष गोविन्द ज्ञवालीले कोषका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने भनेर कार्यालयमा पुगे पनि पदाधिकारी नभएपछि नायब सुब्बालाई ज्ञापनपत्र बुझाएर फर्किएको बताए ।
संघका अध्यक्ष ज्ञवालीले पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने भनेर गएकोमा कोषका पदाधिकारी सबै काठमाण्डौ तथा विदेश गएको थाहा पाएपछि नायव सुब्बा नवराज अधिकारीमार्फत कोषमा ज्ञापनपत्र बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय