प्रचण्डले स्विकारे चिनियाँ नाकाबन्दी , तिब्बतसँग जोडिएको नाका खोल्न पहल गर्ने प्रतिवद्धता

२०७९ कार्तिक २८, सोमबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २८
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले लामो समयदेखि बन्द रहेको तिब्बतसँग जोडिएको गोरखाको नाका खुलाउन पहल गर्ने बताएका छन्।

आइतबार उत्तरी गोरखाको छेकम्पार, सामागाउँ र सिर्दिवास पुगेर उनले तिब्बतसँग जोडिएका नाकाहरू खोल्न चीनसँग छलफल गर्ने आश्वासन दिएका हुन्।

गठबन्धनबाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार कांग्रेसका राजेन्द्र बजगाईं र प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न प्रचण्ड गोरखा पुगेका हुन्।

तिब्बतसँग जोडिएका गोरखाको रुइला र ङुइला नाका लामो समयदेखि बन्द अवस्थामा छन्। सडक सञ्जाल नपुगेको चुमनुब्री गाउँपालिका ले तिब्बतबाट खाद्यान्न लगायतका सामाग्री आयात गर्दै आइरहेका थिए । तर, नाका बन्द हुँदा स्थानीयले सामान आयातमा कठिनाइ भोग्दै आइरहेका छन्।

गोरखाको छेकम्पारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बेनीघाट–आरुघाट–सिर्दिवास–चुम्चेत छेकम्पार ङुइला भञ्ज्याङसम्मको उत्तर दक्षिण लोकमार्गका लागि बजेट विनियोजन गर्ने आश्वासन दिएका छन्। उनले भने, ‘उत्तरी गोरखाको भूगोल र यहाँका जनतासँग धेरै परिचित छु, यहाँका समस्या समाधान गर्नका लागि लागिपर्नेछौँ।’

यस क्षेत्रको लोक्पा पहिरोको अध्ययन गरी रोकथाम गर्ने, सामागाउँका बासिन्दालाई तत्काल लालपुर्जा दिने प्रक्रिया अघि बढाउने, बिरामीको उद्धारलाई अझै चुस्त बनाउनेलगायत विषयमा अध्यक्ष दाहालसहित सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार बजगाईं र प्रदेश सभा उम्मेदवार न्यौपानेले पनि प्रतिबद्धता जनाए।

गोरखा १ का उम्मेदवार बजगाईंले पार्टी फरक भए पनि गठबन्धन विकासका लागि एक ठाउँमा रहेको बताए । यहाँका जनताको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न र यस क्षेत्रको विकास गर्न गठबन्धन लागिपर्ने उनको भनाइ छ।

कार्यक्रममा माओवादी अध्यक्ष दाहालले पुराना सबै घाउ बिर्सिएर देशका लागि एकजुट हुनुपर्ने वेला आएको बताए। उनले गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईं र नन्दप्रसाद न्यौपानेलाई रूख चिह्नमा मतदान गर्न मतदातालाई अपिल गरे।

चुमनुब्री गाउँपालिका का अध्यक्ष निमा लामाले उत्तरी गोरखाको समस्याबारे जानकारी गराएका थिए। साथै, वडाध्यक्ष, राजनीतिक पार्टीका प्रमुखहरूले त्यस क्षेत्रको समस्याबारे ज्ञापनपत्र पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय