भैरहवा असोज २३
चाडपर्व नजिकिएसँगै नेपालमा प्रतिबन्धित पटका भारतबाट अवैध रूपमा भित्राएर व्यावसायिक कारोबार गर्ने क्रम बढ्न थालेको छ ।
यसको पछिल्लो उदाहरणका रूपमा रुपन्देही प्रहरीले ५ लाख रुपैयाँ बराबरका विभिन्न किसिमका पटका बरामद गरेको छ । प्रहरीले पटका ओसारपसारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
तिहार आउन अझै एक महिनाभन्दा बढी समय बाँकी रहे पनि रुपन्देहीमा ठूलो परिमाणमा पटका बरामद हुनुले चाडपर्व लक्षित अवैध कारोबार अग्रिम रूपमा सुरु भइसकेको संकेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहीबार इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सैनामैना नगरपालिका–४, रन्यौराबाट गाडीमा राखिएको ठूलो परिमाणको पटका बरामद गरेको हो ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २५ वर्षीय धर्मराज यादवले चलाएको बा २१ च २२४९ नम्बरको पिकअप जिप रोकेर जाँच गर्दा ९ वटा बोरामा राखिएका विभिन्न प्रकारका पटका फेला परेका थिए ।
प्रहरीले करिब पाँच लाख रुपैयाँ मूल्य बराबरका पटका र पटका ओसारपसारमा प्रयोग भएको पिकअप जिप बरामद गरेको जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ का २५ वर्षीय धर्मराज यादव -चालक) र १८ वर्षीय सुशील यादव तथा सम्मरीमाई गाउँपालिका–७ का ३२ वर्षीय अक्लेश मौर्या र १९ वर्षीय सन्तोष कुर्मी रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरूमाथि विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई शुक्रबार अदालतमा म्याद थपका लागि उपस्थित गराउने र त्यसपछि घटनाबारे थप विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक -डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए ।
दिपावली, छठ, ठूलो एकादशी, विवाह तथा अन्य उत्सवमा पटका प्रयोग गर्ने चलन रहेकाले नेपालमा यसको माग हुने गरेको छ । तर नेपालमा प्रतिबन्धित भएकाले पटका वैधानिक रूपमा आयात गर्न पाइँदैन । फलस्वरूप भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लाबाट अवैध रूपमा पटका भित्राउने र देशका विभिन्न बजारमा पुर्याइने कारोबार हुने गरेको छ ।
प्रहरीले बरामद गरेको उक्त पटका कहाँ लैजान लागिएको थियो र यसको अवैध कारोबारमा अरू को–को संलग्न छन् भन्ने विषयमा विस्तृत विवरण खुल्न बाँकी छ । पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढेपछि पटका ओसारपसारको सञ्जाल, गन्तव्य र कारोबारमा संलग्न अन्य व्यक्तिबारे जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।
भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लाबाट भित्रिने यस्ता प्रतिबन्धित सामग्री पहाडी जिल्लासम्म पुग्ने गर्छ । काठमाडौं, पोखरालगायतका सहरमा अवैध रूपमा पुर्याइने पटका महँगो मूल्यमा बिक्री हुने गरेको छ ।






