कालीकोटमा भारतीय सहयोगमा विद्यालय बनाउन शिलान्यास

२०८३ जेष्ठ २९, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

जेठ २९
कर्णाली प्रदेशको कालीकोटस्थित सान्नीत्रिवेणी गाउँपालिका– ४ मा शुक्रबार श्री जनज्योति माध्यमिक विद्यालयको भवन निर्माणका लागि शिलान्यास भएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भर्चुअल माध्यमबाट भवन शिलान्यास गरेका हुन् ।
भारत सरकारको आर्थिक सहयोग करिब नौ करोड ३० लाख रुपैयाँमा विद्यालयको भवन निर्माण हुँदै छ । भारतीय दूतावासका अनुसार यो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। यसको कार्यान्वयन कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामार्फत हुनेछ । यो नेपालको कालीकोट जिल्लाकै पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेको भारतीय दूतावासले जनाएको छ ।
सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले सान्नीत्रिवेणी गाउँपालिकाका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।भारतीय राजदूत श्रीवास्तवले भिडियो सन्देशमार्फत परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना व्यक्त गरे। उनले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको प्रतिबद्धता दोहो¥याएका छन्। उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता भारत सरकारद्वारा नेपालका सबै सातवटै प्रदेश र ७४ वटा जिल्ला समेट्ने गरी करिब ६ सयवटा परियोजना सञ्चालन गरिएका छन्।
यसमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा अवस्थित छन्। भारत सरकारले कालीकोटमा चारवटा एम्बुलेन्स र दुईवटा स्कुलबससहित कर्णाली प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई ५६ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय