भैरहवा जेठ ६
रुपन्देहीको भैरहवास्थित तिरुपति स्पोेर्टस क्लबले भैरहवामा जर्सी सार्वजनिक र खेलाडीलाई सम्मान गरेको छ ।
बुधबार भैरहवामा आयोजित कार्यक्रममा उक्त क्लबले राष्ट्रिय क्रिकेट खेलाडी बसीर अहमद खाँनलाई प्रमाण पत्र र नगद ५ हजार ५ सय रुपैयाँसहित सम्मान गरेको हो । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, तिरुपति क्लबका अध्यक्ष खेमराज भुसाल, मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबका अध्यक्ष तथा नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्तबिक्रम मल्ल, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापा, तिरुपती क्लबका उपाध्यक्ष सञ्जिब जोशी लगायतले संयुक्त रुपमा क्लबको जर्सी सार्वजनिक गरे । यस्तै, उनीहरुले क्रिकेटर बसिरलाई सम्मान पनि गरेका छन् ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष थापाले क्रिकेटमा रुपन्देहीले निकै नै ठुलो फड्को मारेको दावी गरे । तिरुपति क्लबले आफ्नो स्थापनाकालदेखि नै क्रिकेट जगतमा ठूलो योगदान पुर्याउँदै आएको र राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरुको उत्पादनमा टेवा पुर्याएको भनाइ उनको थियो ।
मेलवर्न क्रिकेट क्लबका अध्यक्ष मल्लले आफू पनि यस क्लबबाट खेलेको स्मरण गर्दै तिरुपति क्लबले विगतका दिनदेखि नै क्रिकेटका विभिन्न खेलहरुमा आफ्नो सक्रियता देखाएको बताए । यसले क्रिकेटको विमास महत्वपूर्ण योगदान दिएको जनाए ।
लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापाले विभिन प्रतियोगितामा तिरुपति र खुकुरी क्लब फाइनल खेलमा प्रतिस्र्पधा गरेको जनाउँदै यो सुखद् पक्ष भएको बताए । खेल जगतमा तिरुपतिले क्लबले पनि राम्रा खेलाडी उत्पादन गरेको परिणामले नै अहिलेको परिवेशमा नेपाल विश्वकप खेल्न पुगेको बताए ।
लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेले तिरुपतिले रुपन्देही क्रिकेट विकासमा अग्रणी भूमिका खेलेको सुनाए । आगामी दिनका प्रतियोगितामा खेल सुधार गर्दै राष्ट्रको नामलाई विश्व भर चिनाउने गरी प्रयोगिता गर्न र खेलाडी उत्पादनमा ध्यान दिन उनको आग्रह छ ।
तिरुपती क्लबका उपाध्यक्ष सञ्जिब जोशीले खेल जगतमा तिरुपति क्लबले सकारात्मक सन्देश दिन खोजेको र युवा खेलाडीलाई प्रोत्साहन गर्न जर्सी सार्वजनिक र सम्मान कार्यक्रमको आयोजना गरेको बताए । क्लबका सचिव प्रियबन्धु न्यौपानेले तिरुपति क्लबको रुपन्देहीको क्रिकेट विकास मेरुदण्ड भएको जनाए ।






