बैशाख १०
नेपाल–भारत विकास सहयोग अन्तर्गत झापाको गौरादहमा रहेको श्री जनता माध्यमिक विद्यालयको नयाँ भवनको एक कार्यक्रमबीच शिलान्यास गरिएको छ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह नगरपालिका वडा नम्बर १ मा रहको विद्यालयको शिलान्यास गरेका हुन्।
भारतीय राजदूतावासको ९० प्रतिशत र गौरादह नगरपालिकाको १० प्रतिशत संयुक्त लगानीमा निर्माण हुन लागेको यस परियोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले शैक्षिक पूर्वाधारको विकासले नै प्रदेशको समृद्धिको आधार तयार गर्ने बताए।
कुल ६ करोड ६३ लाख १५ हजार ५ सय ८२ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त विद्यालय भवनको ठेक्का सम्झौता कुश्वाहा ब्रदर्स इन्जिनियरिङ सोलुसन र नयाँ नेपाल निर्माण सेवा जेभीले पाएका छन्। यस परियोजना अन्तर्गत २२ हजार ८ सय ३६ दशमलव ३ वर्ग फिट क्षेत्रफलमा भुइँतल्ला र पहिलो तल्ला आरसिसी संरचनाको बन्ने जानकारी दिइएको छ।
त्यस्तै, दोस्रो तल्लामा ११ हजार ४ सय १८ दशमलव १५ वर्ग फिटको ट्रस भवन निर्माण गरिनेछ। २०८२ फागुन १७ गते सम्झौता भई फागुन ३० गतेदेखि कार्य प्रारम्भ भएको यो भवनलाई २०८४ साल जेठ १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। भारतीय दूतावासको ठूलो आर्थिक सहयोगमा बन्न लागेको यो आधुनिक भवनले विद्यार्थीहरूका लागि गुणस्तरीय र सुरक्षित शैक्षिक वातावरण प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ।






