चैत २३
लुम्बिनी प्रदेशका सांसदले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भैरहवा विमानस्थल सञ्चालनका लागि हवाई मार्गबारे भारतसँग कुराकानी गर्न आग्रह गरेका छन्।
सोमबार प्रधानमन्त्री शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसँग छलफल गरेका छन्। त्यसक्रममा सांसदहरूले प्रदेशका विकास निर्माणका विषय उठाएका छन्।
छलफलमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएको पुनले बताए। उनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन ढिलाई गर्न नहुने उनको भनाइ थियो।
‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन’, पुनले छलफलमा भने, ‘अन्तर्राष्ट्रिय हवाई मार्गका लागि भारतसँग कूटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’
त्यस्तै, दाङको कोइलाबास–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने सहिदमार्ग निर्माणको कामलाई गति दिन माग पुनले माग गरेका छन्। उत्तरी छिमेकी चीनको सीमासम्म छुने उक्त सडकको रणनीतिक महत्त्व रहेको उनको भनाइ थियो।
त्यस्तै, अर्थमन्त्री भएका बेला आर्थिक वर्ष २०८१÷८२ को बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना अघि बढाउनुपर्नेमा पनि पुनले जोड दिए। एकीकृत विकास अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी निजी क्षेत्रसँगको साझेदारीमा त्रिभुज परियोजना अघि बढाउन सकिए नयाँ आर्थिक केन्द्र विकास हुने र त्यसले मुलुकको समग्र अर्थतन्त्रमै ‘गेम चेन्जर’ को भूमिका खेल्न सक्ने उनको भनाइ थियो।
यस्तै, लुम्बिनी प्रदेशमा सिंचाई, मल, बिउ, आधुनिक कृषि औजार र बजार व्यवस्थापनसहित एकीकृत विकास परियोजना अघि बढाउन पनि सांसदले सुझाएका छन्।






