चैत ७
ललितपुर र लमजुङका पाँच हजारभन्दा बढी विद्यार्थीलाई एक करोड रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ।
चाइना फाउन्डेसन फर रुरल डेभ्लेपमेन्ट (सीएफआरडी)को सहयोगमा ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट (जीसीडी)ले शैक्षिक सामाग्री विरतण गरेको हो। ललितपुर र लमजुङका ५६ विद्यालयका ५ हजार ५ विद्यार्थीलाई करिब १ करोड बराबरको शैक्षिक सामाग्री वितरण गरिएको जीसीडीका अध्यक्ष मुक्ति मरासिनीले जानकारी दिए।
पाँच वर्षदेखि सामुदायिक शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउने अभियानमा लागिरहेको जीसीडीले प्रारम्भिक बाल विकासदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई स्कुल ब्याग, स्टेशनरी र व्यक्तिगत सरसफाइका लागि हाइजिन किट्स वितरण गरेको अध्यक्ष मरासिनीले बताए।
चैत ६ गते ललितपुरको महालक्ष्मी नगरपालिकाका ७ वटा विद्यालय कालिदेवी, लुभु मावि, सिङ्घेरी सामुदायिक, सूर्योदय बालविकास, नारायण आधारभूत, सिस्नेरी मावि र बालोदय आधारभूत विद्यालयका एक हजार ४३९ विद्यार्थीलाई २७ लाख ९५ हजार २१४ रुपैयाँ बराबरको वितरण गरिएको छ। महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन्।




त्यस्तै, ललितपुरकै दक्षिणी क्षेत्रको कोन्ज्योसोम गाउँपालिकाका १४ विद्यालयमा एक हजार १०२ विद्यार्थीलाई २७ लाख २४ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको छ। कोन्ज्योसोमका अध्यक्ष कृष्णमान लामाले शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए।
यस्तै, गण्डकी प्रदेशको लमजुङका ३५ विद्यालयमा पनि ४७ लाख ४६ हजार रुपैयाँभन्दा बढीको सामाग्री वितरण गरिएको छ। वरिष्ठ शिक्षा अधिकृत हिमलाल शर्माको नेतृत्वमा मंगलबार र बुधबार २ हजार ४६४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको जीसीडीले जनाएको छ।
हरेक विद्यार्थीलाई १९ वटा शैक्षिक र स्वास्थ्य सामाग्री रहेको ब्याग प्रदान गरिएको छ। अध्यक्ष मरासिनीका अनुसार, ब्यागसहित सबै सामाग्रीको मूल्य एक हजार ९४२ रुपैयाँ ४७ पैसा रहेको छ। बालबालिकालाई लेखपढमा सहज होस भनेर गुणस्तरीय ब्याग र शैक्षिक सामाग्री प्रदान गरिएको उनको भनाइ छ।



