माघ १८
भारतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता बढाएको छ ।
भारतको ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपाललाई उपलब्ध गराइने अनुदान रकम ८ अर्ब भारतीय रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब रुपैयाँले बढी हो। भारत सरकारले आर्थिक वर्ष २०२३–२४ मा नेपाललाई ६ अर्ब ५७ करोड भारु अनुदान दिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०२४–२५ मा ७ अर्ब भारु अनुदान दिएको थियो । आर्थिक वर्ष २०२५–२६ मा पनि ७ अर्ब भारु नै विनियोजन गरे पनि कुल खर्च भने ८ अर्ब ३० करोड भएको भारतको बजेट पुस्तकमा उल्लेख छ । आगामी आवमा भारत सरकारले गरेको विनियोजन यो आवको कुल खर्चको तुलनामा भने कम हो ।
त्यसैगरी भारतले बाढी व्यवस्थापन तथा सीमा क्षेत्र कार्यक्रम शीर्षकमा छुट्याएको केही रकम नेपालमा समेत खर्च हुनेछ । सो शीर्षकमा रहेको रकम मध्ये कोशी र गण्डक परियोजनाको मर्मत तथा बाढी नियन्त्रण कार्यमा खर्च हुने भारतीय बजेटमा उल्लेख छ। त्यसका लागि भारतले ७ अर्ब ९७ करोड भारु विनियोजन गरेको छ ।विश्लेषकहरूका अनुसार नेपाललाई दिइएको सहयोग वृद्धिले पूर्वाधार, सीमा क्षेत्रमा विकास परियोजना र सामाजिक क्षेत्रमा भारत–नेपाल सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
भारतले क्षेत्रीय सम्बन्ध र छिमेकी मुलुकसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै नेपालसहित भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम वृद्धि गरेको छ । भारतको यो निर्णयलाई नेपाल–भारत विकास साझेदारी निरन्तरताको संकेतका रूपमा हेरिएको छ ।






