विद्या भण्डारीलाई चिनियाँ नेताको सुझाव– तपाईं नेपालको विशिष्ट नेता, कम्युनिष्ट एकताको नेतृत्व गर्नुस्

२०८२ जेष्ठ १३, सोमबार
पढ्ने समय : < 1 मिनेट

जेठ १२
चीनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रुपमै नेपालको वरिष्ठतम नेताको मान्यता दिँदै नेपालका वामपन्थी पार्टीहरुको एकताको नेतृत्व गर्न सुझाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ झियाचाओलगायतका नेताहरुले पूर्वराष्ट्रपति भण्डारीसँगको भेटवार्तामा नेपालको वरिष्ठतम नेता भन्दै वाम एकताको नेतृत्व गर्न सुझाव दिएको भ्रमण दलमा रहेका एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बताए ।

थापाले बेइजिङबाट भने, ‘उहाँले आज चिनियाँ नेताहरुसँग भेटवार्ता गर्नुभयो । हिजो पनि बैंक्वेट डिनरमा भेट भएको थियो । उहाँले म सामान्य नेपाली नागरिक भन्दा चिनियाँ नेताहरुले तपाईं नेपालको विशिष्ट नेता हो भन्दै उच्च सम्मान दिनुभयो । जनताको बहुदलीय जनवादको बारेमा पूर्वराष्ट्रपतिले औपचारिक समारोहको भाषणमा पनि व्याख्या गर्नुभयो । त्यही सिद्धान्तमा टेकेर नेपालको कम्युनिष्ट मुभमेन्टको नेतृत्व विद्या भण्डारीले गर्नसक्ने अपेक्षा चिनियाँ नेताहरुको छ ।

चीनको १० दिने भ्रमणका क्रममा आइतबार राजधानी बेइजिङ आएकी पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई समेत सम्बोधन गरेको थापाले बताए ।
सो सम्बोधनमा पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमाले जननेता स्वर्गीय मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तमा अघि बढेको जानकारी विश्व समुदायलाई दिएको थापाले बताए ।

उनका अनुसार भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा नेपाल अघि बढेकोसमेत बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय