भैरहवा असार ४
बुटवल उपमहानगरपालिका–१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको आरोपमा ७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले विगत केही दिनदेखि चिनियाँ नागरिकहरूको समूहले विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत नेपालमा प्रतिबन्धित अभौतिक मुद्रा -क्रिप्टोकरेन्सी) कारोबार गरिरहेको सूचना प्राप्त गरेको थियो । सोही सूचनाको आधारमा बिहीबार दिउँसो छापा मारेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले बिनान्स, ओकेएक्स, इन्टोकन, पेटीएम, भिम, मोबिक्विक तथा फोनपे लगायतका वित्तीय तथा क्रिप्टो वालेट एप्स र वेबसाइटहरू प्रयोग गरी कारोबार गर्ने गरेको खुलेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर ईआर४७३३८२८ भएको वर्ष ४९ का सीओङ गुफु, राहदानी नं. ईबी२८३३२१ भएको वर्ष ४३ का हु गङ, राहदानी नम्बर ईके२२३५३४९ भएको वर्ष ४५ को ली छुयनी, राहदानी नम्बर ईपी ९००९२३२ भएको वर्ष ३६ को सुन हुई, राहदानी नम्बर ई०६८८६३०६ भएको वर्ष ३५ को झाओ क्विचिन, राहदानी नम्बर ईआर८४१३५९६ भएको वर्ष ३१ को छियाङ जियासुन र राहदानी नम्वर ईपी६५२४३६४ भएको वर्ष ४५ को ली बिन रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट अवैध कारोबारमा प्रयोग भएका ११ थान मोबाइल फोन र २ थान ल्यापटप बरामद गरेको छ। ।।नेपालमा क्रिप्टोकरेन्सीको कारोबार, लगानी तथा माइनिङ कार्य हाल कानुनद्वारा प्रतिबन्धित छ ।






