भैरहवा जेठ ३०
रोटरी क्लब अफ भैरहवाले रुपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित श्री वरेवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेको छ।
क्लबले कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई सहज बनाउन झोला वितरण गरेको हो।
क्लबका अध्यक्ष रो. कमल कोइरालाको अध्यक्षता, रोटरी क्लब अफ भैरहवाका असिस्टेन्ट गभर्नर रो. जितेन्द्रनाथ शर्माको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार यादवको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष रो. कमल कोइरालाले विपन्न परिवारका बालबालिकाका लागि सानो भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यालय तथा समुदायसँग सहकार्य गर्दै यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। साथै, हाल बेलायतमा रहनुभएका मायादेवी–३ सुक्रौलीका स्थानीय युवा राम सहानी, आशिस कुमार भुज तथा उहाँहरूका साथी संजय यादवले झोला वितरण कार्यक्रमका लागि आर्थिक सहयोग प्रदान गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो।

प्रमुख अतिथि रो. जितेन्द्रनाथ शर्माले …स्वार्थभन्दा माथि सेवाÚ भन्ने रोटरीको मूल मन्त्रलाई आत्मसात गर्दै संस्था निरन्तर समाजसेवामा सक्रिय रहेको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणका क्षेत्रमा रोटरीले महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार यादव, प्रधानाध्यापक अब्दुल हन्नान, सहायक प्रधानाध्यापक रुपा राना तथा रोटरी वर्ष २०२६–२७ का अध्यक्ष रो. अजय कुमार गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालयका शिक्षक–शिक्षिका, स्थानीय समाजसेवी, सहयोगदाताकका पारिवारिक सदस्य तथा रोटरीका सदस्यहरूको उल्लेख्य उपस्थितिमा विद्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष रो. पवन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रोटरी क्लब अफ भैरहवाका सचिव रो. सुमन पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।






