खरिद प्रक्रियामा कुनै अनियमितता र राज्यकोषको क्षति भएको छैन प्रहरी महानिरीक्षक कार्की

२०८३ श्रावण २७, बुधबार
पढ्ने समय : 2 मिनेट

काठमाडौ साउन २७
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको खरिद प्रक्रियामा कुनैपनि किसिमको आर्थिक अनियमितता वा भ्रष्टाचार नभएको स्पष्ट पार्नुभएको छ ।बुधवार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले खरिद प्रक्रियामा राज्यकोषको कुनैपनि रकम खर्च नभएकाले भ्रष्टाचारको वस्तुगत आधार नै विद्यमान नरहेको दाबी गर्नुभएको हो ।
महानिरीक्षक कार्कीले सार्वजनिक खरिद ऐन र बोलपत्र कागजातमा उल्लेखित शर्त बमोजिम नै खरिद प्रक्रिया रद्द गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार उक्त प्रक्रियामा कुनैपनि फर्मसँग सम्झौता -कन्ट्र्याक्ट एग्रिमेण्ट) नभएको, पेस्की वा भुक्तानी -फाइनान्सियल डिस्बर्समेण्ट) नगरिएको र मालसामान समेत दाखिला नभएकाले अनियमितताको प्रश्नै नउठ्ने जिकिर गर्नुभयो।
खरिद प्रक्रियाप्रति असन्तुष्टि भएमा सार्वजनिक खरिद पुनरावलोकन समिति वा अदालतमा उजुरी दिने कानूनी बाटो हुँदाहुँदै पनि गलत मनसायले बेनामी उजुरी दिने प्रवृत्ति बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो।भृकुटीमण्डपस्थित …ब्लु प्याभिलियनÚ को विषयमा स्पष्ट पार्दै महानिरीक्षक कार्कीले अमर प्रहरीका आश्रित परिवारले उत्पादन गरेका सामान विक्री गर्ने स्टल सञ्चालन गर्ने असल मनशायले आफूले सार्वजनिक मन्तव्य मात्र दिएको बताउनु भयो । सो विषयमा कुनै संरचना निर्माण नभएको र कसैसँग कुनै सरसल्लाह वा सम्झौता समेत नभएको अवस्थामा गृह मन्त्रालय लगायतका निकायमा बेनामी उजुरीको ओइरो लागेको उहाँको भनाइ छ ।
महानिरीक्षक कार्कीले भन्नुभयो, …यो विषय अदालतमा विचाराधीन रहेको छ । सार्वजनिक खरिद ऐन तथा बोलपत्र कागजातमा तोकिएका सर्तबमोजिम खरिद प्रक्रिया रद्द गरिएको हो । कुनै फर्मसँग सम्झौता भएको छैन, पेश्की वा भुक्तानी गरिएको छैन, सामान दाखिला भएको छैन र राज्यकोषबाट कुनै खर्च भएको छैन ।

त्यसैले उजुरीमा उल्लेख भएजस्तो आर्थिक अनियमितता वा भ्रष्टाचार भएको छैन र हुने अवस्था पनि थिएन । खरिद प्रक्रियामा चित्त नबुझे सार्वजनिक खरिद पुनरावलोकन समिति वा अदालतमा उजुरी गर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि त्यसको प्रयोग नगरी असम्बन्धित व्यक्तिहरूबाट बेनामी उजुरी दिने र खरिद प्रक्रियालाई प्रभावित गर्ने प्रयास भएको देखिन्छ ।
त्यस्तै, अमर प्रहरीहरूको हितका लागि भृकुटीमण्डपस्थित …ब्लु पेभिलियनÚ मा अमर प्रहरीहरूले उत्पादन गरेका सामग्रीका स्टल राखी उनीहरूकै सहभागितामा सञ्चालन गर्न सकिए हुन्थ्यो भन्ने सदाशयपूर्ण सार्वजनिक अभिव्यक्तिलाई समेत बेनामी उजुरीको विषय बनाइएको छ ।
यस विषयमा न कुनै संरचना निर्माण भएको छ, न कसैसँग सम्झौता वा औपचारिक छलफल नै भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी नमुना बोलपत्र कागजात तथा प्रचलित कानूनबमोजिम हुने खरिद प्रक्रियामाथि समेत अनावश्यक प्रश्न उठाउने गरिएको छ ।
त्यसैले खरिदसम्बन्धी सबै प्रक्रिया सम्बन्धित निकायबाट स्पष्ट र व्यवस्थित रूपमा सहजीकरण गरिदिन अनुरोध गर्दछु । अब सार्वजनिक खरिद ऐनमा भएको संशोधित व्यवस्थाबमोजिम प्राविधिक स्पेसिफिकेसनलगायत आवश्यक विषय परिमार्जन गरी नयाँ चरणबाट नियमानुसार खरिद प्रक्रिया अघि बढाइनेछ ।
अन्त्यमा, प्रहरी प्रधान कार्यालयबाट बोलपत्र रद्द हुँदा कुनै फर्मसँग सम्झौता भएको छैन, कुनै पेश्की वा भुक्तानी भएको छैन, सामान दाखिला भएको छैन र राज्यकोषबाट कुनै खर्च नभएकाले यसमा भ्रष्टाचार वा वित्तीय अनियमितताको वस्तुगत आधार नरहेको व्यहोरा सम्मानित समितिसमक्ष निवेदन गर्दछु।
महानिरीक्षक कार्कीले प्रचलित सार्वजनिक खरिद ऐन र नियमावलीका आधारमा हुने खरिद प्रक्रियामा बारम्बार प्रश्न उठ्ने गरेको उल्लेख गर्दै खरिद कार्यका लागि छुट्टै विशिष्टीकृत निकाय वा विभाग भए कार्यसम्पादनमा सहज हुने सुझाव समेत दिनुभयो ।
हाल खरिद प्रक्रियाका सम्बन्धमा सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्था अनुसार प्राविधिक स्पेसिफिकेसन परिमार्जन गर्ने कार्य भइरहेको र नयाँ आर्थिक वर्षमा नियमानुसार पुनः खरिद प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।
मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निरुपणपछि थप प्रक्रिया अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय