कपिलवस्तु बैशाख १४
प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले कपिलवस्तु क्षेत्र नम्बर ३ मा पुगेर क्षेत्रगत समस्याबारे जानकारी लिएकी छन् । क्षेत्रको कृष्णनगर नगरपालिकामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले जनप्रतिनिधि, सुरक्षा अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय बासिन्दाहरुसँग भलाकुसारी गर्दै क्षेत्रगत समस्याबारे जानकारी लिएकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रवाललाई कपिलवस्तु–३ मा हेर्ने गरी जिम्मेवारी तोकेको छ । पार्टीको जिम्मेवारी लिएपछि क्षेत्रमा पुगेकी अग्रवालले दिनभर स्थानीयहरुसँग रायसुझाव माग समेत गरेकी थिइन् । सो क्रममा सुरक्षा अधिकारीहरुले क्षेत्रगत र समग्र जिल्लाको शान्ति सुरक्षाका बारे जानकारी गराएका थिए भने स्थानीय तहका जनप्रतिनिधिले क्षेत्रमा गर्नुपर्ने योजनाबारे सांसद अग्रवाललाई अवगत गराएका थिए ।
सांसद अग्रवालले सरकारको मुख्य उद्देश्य नै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र जनचाहना अनुसार विकास गर्ने रहेको बताइन् । उनले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासका क्षेत्रमा स्थानीयले उठाएका विषयहरु आफूले टिपोट गरेको जनाउँदै विस्तारै ती समस्या समाधानमा पहल गर्ने जनाइन् ।
सीमा क्षेत्रबाट हुने अवैध कामलाई निस्तेज पार्नु पर्ने जनाउँदै सांसद अग्रवालले सरकारको स्प्रिट अनुसार प्रदेश र स्थानीय तहसँगै सबै कर्मचारीहरुले काम गर्नुपर्नेमा जोड दिइन् । रास्वपाले दलका आधारमा कसैलाई काखा र कसैलाई पाखा नगराउने जनाउँदै आफूहरुको उद्देश्य नै शुखी नेपाली र समृद्ध नेपाल रहेको जनाइन् ।
कुनै पनि कार्यालयमा सेवाग्राहीलाई दुःख दिने काम गर्न नहुने जनाउँदै अग्रवालले यसका लागि दत्तचित्त भएर काम गर्न कर्मचारीहरुलाई आग्रह गरिन् । आफूले क्षेत्रगत विकासका लागि पालिका तथा प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने उनको प्रतिबद्धता छ । क्षेत्रको विकासमा आवश्यक पर्ने बजेट विनियोजन र योजनाहरुको छनोटमा सबैको रायसुझाव लिएर अघि बढ्ने उनको भनाई छ ।रास्वपाको सरकार बनेपछि निजी क्षेत्र र आमसर्वसाधरणमा आशा पलाएको जनाउँदै अग्रवालले त्यो आशा र विश्वासलाई कहीकतै डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गरिन् । सीमा क्षेत्र भएकाले सबै निकाय संवेदनशील भएर काम गर्नुपर्नेमा उनको जोड छ । विस्तारै निजी क्षेत्र चलायमान हुँदै गएको उनको भनाई छ । किसानलाई मल र बीउ अभावले सधैं सताइरहने जनाउँदै यसको दीर्घकालीन समाधान गर्न सरकार लागिपरेको उनको भनाई छ । मधेशी महिला तथा विपन्न र गरिब परिवारको उत्थानका लागि आफूले योजना बनाएर कार्यान्वयनका लागि तीन तहका सरकारसँग पहल गर्ने अग्रवालले बताइन् । कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले पूर्वाधार विकाससँगै मलबीउको समस्या समाधानका लागि पहल गर्न आग्रह गरे ।
यस्तै, सांसद अग्रवालले विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा पुगेर पार्टीका जिल्ला, क्षेत्र, पालिका र वडाध्यक्षहरुसँग छलफल गरेकी छन् । यसक्रममा आगामी प्रदेशसभा र स्थानीय तह निर्वाचन, क्षेत्रगत र पालिका स्तरीय विकासका योजनाबारे छलफल गरिएको थियो । पार्टीलाई बलियो बनाउँदै लैजानु पर्नेमा जोड दिँदै सांसद अग्रवालले क्षेत्रमा सबै समस्याहरु एकएक गरेर समाधान गर्न आफूले निरन्तर पहल गर्ने जनाइन् ।






