चैत २६
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुबीच भर्चुअल वार्ता भएको छ। शुक्रबार दिउँसो दुवै देशका संसद्, मैत्री सम्बन्ध, देशको विकास तथा अन्य जनहितका विषयमा द्विपक्षीय छलफल भएको बताइएको छ।
बैठकमा चिनियाँ जनकांग्रेसका अध्यक्ष लि चाङ्सुले दुई देशबीच उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदान नेपाल र चीनबीच रहिआएको सम्बन्ध, विगतमा नेपालका सभामुख तथा ससंदका माननीय सदस्यहरुले गर्नु भएको मित्र राष्ट्र चीनको भ्रमणहरुले नेपाल र चीन युगौंदेखि भूगोल, संस्कृति तथा परम्पराहरुले नजिकबाट जोडिएको बताउदै सम्बन्धको जग जनस्तरसम्म फैलिएको, व्यापक र सुमधुर रहेकोले थप गौरवान्वित भएको बताएका थिए।



संसद् सचिवालयले जारी गरेको विज्ञप्तिमा अध्यक्ष चाङ्सुले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको लागि चीनले सम्मान गर्ने बताउदै कोरोना महामारीको प्रभावकारी नियन्त्रण, रोकथाम र प्रतिकार्यमा चीनले नेपाललाई सहयोग गरेको र यस प्रकारको सहयोगले सरकार सरकार बीच मात्र नभै जनस्तरको सम्बन्धलाई समेत अझ व्यापक र प्रगाढ बनाउन थप मद्दत पुग्ने कुरामा जोड दिएका थिए।
भर्चुअल बैठकमा सभामुख सापकोटाले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको लागि चीनको निशर्त सम्मानको खुला दिलले प्रंशसा गरेका छन्। आगामी दिनमा समेत नेपाल चीनसम्बन्ध अझ प्रगाढ र परिष्कृत वनाउन संघीय संसदले कुनै कसर बाकीँ नराख्ने विश्वास व्यक्त गरेका छन्। 



