चैत्र १९
— तीन दिने भारत भ्रमणका क्रममा शुक्रबार दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई मुलुकबीचको सम्बन्ध मजबुत र द्विपक्षीय आर्थिक सहयोगका विषयमा हुने सम्झौतामा भ्रमण केन्द्रित रहेको बताएका छन् ।
दिल्ली उत्रे लगत्तै भारतीय जनता पार्टीको मुख्यालय गएका प्रधानमन्त्री देउवा भारतीय विदेश मन्त्री एस जयशंकर सँग को भेटपछि साँझ नेपाली राजदूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा सरिक भएका थिए । दूतावासको कार्यक्रममा सम्बोधन गर्दै देउवाले भने ,’यो भ्रमणको मुख्य उद्देश्य नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउनु र द्विपक्षीय आर्थिक सहयोगका विषयहरुमा छलफल गर्नु रहेको छ । यो भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा थप उचाई हासिल गर्ने विश्वास लिएको छु ।’
प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा पुगेका देउवाले शनिबार राजघाटको भ्रमण पश्चात् भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसक्रममा ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायातका क्षेत्रमा महत्वपूर्ण घोषणाहरु हुनेछन् । ’साथै, केही नयाँ सम्झौतापत्रहरु को पनि आदान–प्रदान हुनेछ’ प्रधानमन्त्री देउवाले भने,’नेपाल र भारतबीच सदियौं पुरानो मित्रवत् एवम् घनिष्ट सम्बन्ध रहिआएको छ । दुई देशबीचको साँस्कृतिक तथा भौगोलिक सामिप्यताले गर्दा हाम्रो सम्बन्ध जनस्तरमा समेत अत्यन्त प्रगाढ रहँदैआएको छ ।
प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच प्राचीनकाल देखि रहिआएको सम्बन्धलाई अझ बढी मजबुत र फराकिलो बनाउने कार्यमा यहाँ रहेका नेपालीको सामूिहक योगदान रहेको भन्दै प्रसंशा गरे का छन ।
उनले कोभिड–१९ महामारीको कारणबाट अप्ठ्यारोमा परेका प्रवासी नेपालीहरुलाई सहयोग पुयाउने सन्दर्भमा नेपाली राजदूतावाससँग हातेमालो गरेको भन्दै नेपाली समुदायको प्रसंशा गरेका थिए ।



प्रधानमन्त्री देउवाले आसान्न चुनावकोबारेमा पनि चर्चा गर्दे । ’प्रजातन्त्र, मानव अधिकारको संरक्षण र सुशासन कायम गरी संघीय शासन व्यवस्थाको सुदृढीकरण गर्ने अर्को महत्वपूर्ण अभिभारा पनि वर्तमान सरकारका सामु रहेको छ । संविधान जारी भएपश्चात् भएको तिनै तहको निर्वाचन मेरो नेतृत्वको सरकारले सफलतापूर्वक सम्पन्न गरेको थियो । अब फेरी एक वर्षभन्दा कम समयमा स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि यही सरकार सामु आएको छ’ उनले भने ।।
प्रधानमन्त्री देउवाले शनिबार भारतका प्रमुख उद्योगी, व्यवसायी एवं व्यापारिसँग पनि अन्तरक्रिया गर्न कार्यक्रम छ । आइतबार वाराणसीमा काशी विश्वनाथ, ललिताघाट तथा साम्राज्यश्वरी पशुपतिनाथको दर्शन गरेर उनी स्वदेश फर्कने छन् ।



