चैत्र १४
कोरोना महामारीका कारण २०७६ चैतदेखि रोकिएको मुम्बई, बैंगलोर र कोलकाता उडान आइतबार देखि पुनः सुरु भएको छ । नेपाल वायुसेवा निगमको अपरेसन विभागका निर्देशक क्याप्टेन रवीन्द्र शेरचन का अनुसार, निगमको न्यारोबडी विमानले दुई वर्षपछि आइतबार काठमाडौं–मुम्बई–काठमाडौं उडान गरेको हो ।
विमानमा काठमाडौंबाट १ सय ३८ जना यात्रु मुम्बई गएका थिए । भने उताबाट ७६ जना काठमाडौं आएका थिए । लकडाउन सुरु हुनुअघि निगमले ०७६ चैत २ गते मुम्बई र चैत ४ गते बैंगलोरमा अन्तिम उडान गरेको थियो ।
निगमलाई नागरिक उड्डयन प्राधिकरण ले मुम्बई र बैंगलोरका लागि सातामा ३÷३ वटा उडानको अनुमति दिए पनि चैत २६ गते सम्म यात्रुको मागका आधारमा रहेर बुधबार र शुक्रबार मुम्बई र मंगलबार र बिहीबार बैंगलोर उडान गर्ने तालिका बनाएको छ । कोरोनाअघि भारतको नयाँदिल्ली बाहेक मुम्बई, बैंगलोर, कोलकाता र बनारसमा काठमाडौंबाट दुईतर्फी उडान हुँदै आएका थिए ।
यसअघि कोभिडका कारण भारतले एयर बबल अवधारणा अन्तर्गत नेपाल लगायतका मुलुकलाई हवाई यातायात मा कोटा लगायतका सर्त राखेर मात्रै उडान अनुमति दिएको थियो । कोरोना संक्रमण घटेसँगै शनिबार मध्यराति देखि भारतले एयर बबल अवधारणा हटाउँदै आन्तरिक र अन्तर्राष्ट्रिय उडान कोभिड अघिकै संख्यामा खुला गरेको छ ।
यसैबीच, आइतबार भारत को कोलकाताबाट एयर इन्डियाले दुई वर्षपछि काठमाडौंका लागि उडान गरेको थियो । उसले कोलकाता बाट सय यात्रु ल्याएको थियो । भने फर्किँदा ९५ जना काठमाडौंबाट लिएर गएको थियो । यो रुटमा कोरोना अघि बुद्ध एयरले पनि एटीआर विमानबाट उडान गर्दै आएको थियो। । तर, उसले घाटा हुने भएपछि यो रुटमा अब उडान नगर्ने भएको छ ।
०७६ चैतमा लकडाउन सुरु भएपछि नेपालले १ सय ६४ दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान रोकेको थियो । ०७७ भदौंदेखि सीमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिए पनि भारतले नेपालबाट हुने चार्टर उडानमात्रै खुला गरेको थियो । तर भारतले दुवै देशका नागरिक र कूटनीतिज्ञलाई मात्रै उडाउने सर्तमा एयर बबल अवधारणामा ७२ घन्टाको पीसीआर जाँच अनिवार्य लगायतका सर्त राखेर ८ महिनापछि ०७७ पुसदेखि दुवै देशका ध्वजावहाकले दिनमा एक÷एक उडानमात्रै गर्न पाउने सर्तमा सञ्चालन गराएको थियो । त्यसबेलादेखि रोक लगाइएको नेपाली र भारतीयबाहेक तेस्रो मुलुकका पर्यटकलाई आइतबारदेखि खुला भएको छ । अब नेपाल भारतका वायुसेवाबाट विदेशीले पनि यात्रा गर्न पाउनेछन् ।



नेपाल र भारतले क्वारेन्टाइनमा बस्नुपर्ने, विमानस्थल परिसरभित्रकै ¥यापिड पीसीआरको नियम हटाइए पनि कोभिडको खोप कार्ड अनिवार्य बोक्नुपर्ने, भारतको एयर सुविधा फाराम अनिवार्य भर्नुपर्ने र खोप नलगाएकाले पीसीआर गरेको हुनुपर्ने लगायत स्वास्थ्यसँग सम्बन्धित नियम भने हटाएको छैन ।



