पुस १३,
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट थप ४३.६५ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सूचीकृत गर्न अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
अनुमति पाउने दुई आयोजनामा २४.२५ मेगावाटको काबेली बी १ र १९.४ मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना रहेको प्राधिकरणले बताएको हो। योसँगै अब प्राधिकरणले ४५२.६ मेगावाटसम्म विद्युत् आईआईएक्समा बिक्री गर्न बाटो खुलेको छ।



सुक्खायाम सुरु भएसँगै पर्याप्त विद्युत् उत्पादन नभएपछि प्राधिकरणले अहिले भारतबाट विद्युत् खरिद गरेर देशभित्र विद्युत् आपूर्ति गरिरहेको छ। आगामी वैशाख अन्तिमदेखि भने निर्यात थाल्ने योजना प्राधिकरणको छ। प्राधिकरणले गत वर्षदेखि दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी आईएक्समा बिक्री सुरु गरेको थियो।
यो वर्ष थप आयोजनाले अनुमति पाएपछि २७ जेठबाट ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री थालेको थियो। त्यस्तै, १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो। अहिले थप दुई आयोजनासँगै १० जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारततर्फ निर्यात अनुमति पाएको छ।



