चैत २



काठमाडौंमा आयोजित एक कार्यक्रममा चीनको बिआरआई परियोजनावारे बृहत चर्चा गरिएको छ । “काष्ठमण्डप डाइलग“को पहिलो श्रृंखलाअन्तर्गत उक्त परियोजना नेपाल–चीन मित्रता र सहयोगमा समृध्द भविष्यको रुपमा देखा परेको बताइएको छ ।
सभामुख देवराज घिमिरे,भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतले सम्बोधन गरेको उक्त कार्यक्रममा वक्ताहरुले बिआरआई र नेपालको विकासबारे चर्चा गरेका थिए ।

पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसी, सहयोग एजेन्सी युएसएडका सबै योजना र बजेट स्थगित तथा रद्ध गरिएको परिप्रेक्ष्यमा भएको चिनियाँ सहयोग परियोजनासम्वन्धी छलफललाई सकारात्मक रुपमा लिइएको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गरेका छन् । उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआईको उपयोग अधिकतम गर्नुपर्ने बताए।उनले अनुदान, साझेदारी, सहुलियतपूर्ण ऋण र व्यावसायिक ऋणको कुरा गर्दा नेपालले व्यावहारिक र तर्कसंगत विकल्पहरूसहित परियोजनाहरू छनौट र वार्ता गर्नुपर्ने बताए । सन्तुलित र अग्रगामी दृष्टिकोण अपनाएर नेपालले दिगो विकास र आर्थिक वृद्धि हासिल गर्न बिआरआईका फाइदाहरू उपयोग गर्नसक्ने बताए ।पूर्वप्रधानमन्त्री खनालले चीनले आफ्नो विश्वव्यापी प्रभुत्वको लागि बिआरआई ल्याएको हो भनेर पश्चिमी देशहरूले गलत प्रचार गरिरहेको आरोप पनि लगाए । खनालले केही मानिसहरूले पोखरा विमानस्थल चीनको ऋणको पासो हो र यसलाई निर्माण गर्नु गल्ती थियो भनेर प्रचार गर्ने गरेको र लुम्बिनी विमानस्थलको बारेमा पनि यस्तै हल्ला फैल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताएका छन्।
उनले नेपालमा रहेका लगानी सम्भावनाहरुलाई सही रुपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले नेपाल एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिवद्धता बलियो रही आएको बताए । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको उनले बताए ।
बीआरआई नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभइ आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा लिनुपर्ने बताए । सभामुख घिमिरेले नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै ट्रान्जिट हबको रुपमा स्थापित हुनसक्ने उल्लेख गर्दै यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास, सडक, रेलमार्ग, उर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । नेपाल—चीन सम्बन्ध केबल व्यवसायिक वा आर्थिक सहयोगमा सिमित नरहेको भन्दै सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणका क्षेत्रमा पनि सम्बन्ध बिस्तार भइरहेको बताए ।
सभामुख घिमिरेले भने, ‘चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्वपूर्ण विकास साझेदार मुलुकको रुमपा रही आएको छ । नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेका छन् । नेपाल र चीनको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित छ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको छ । यो पहल नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभइ आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा लिनुपर्छ ।’



