पुस २९
नेपाल–भारत वाणिज्य सचिव स्तरिय बैठकले १५ बुँदे सहमति गरेको छ। नेपालको तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की र भारतीय वार्ताटोलीको भारतका वाणिज्य सचिव सुनिल बर्थवालले नेतृत्व गरेको बैठकले नेपाली वस्तु निर्यात सहजीकरण गर्ने लगायत सहमति गरेका हुन्।
मन्त्रालयका सहसचिव बाबुराम अधिकारीका अनुसार काँकडभिट्टा– फुलबारी–बंगलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारी साधनमा लगाईएको भार वहनको सीमा हटाई भारतीय मालवाहक गाडी सरह आवत जावत गर्न दिन भारतीय पक्ष सहमत भएको छ। हाल बढी भारवहन क्षमताका नेपाली मालबाहक सवारी आउजाउ गर्न पाउँदैनथे।



हाल भारतमा निकासी गर्न केही वस्तुहरुमा बीआईएस प्रमाणपत्र अनिवार्य गरेको सन्दर्भमा भारतमा निकासी हुने नेपाली वस्तुहरु जुत्ता, प्लाईउड, यार्न, सेनेटरी प्याड, सिमेन्ट, जस्तापाता र स्टिलजन्य वस्तु को सहज निकासीका लागि प्राथमिकताका आधारमा बीआईएस प्रमाण पत्र जारी गर्ने र नवीकरण गर्ने प्रक्रियालाई तीव्रता दिन भारतीय पक्ष सहमत भएको सहसचिव अधिकारीले बताए।



