पुस २४
दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा गत वैशाख २८ गतेबाट सुरु गरिएको पेट्रोलियम अन्वेषणअन्तर्गत अन्वेषणात्मक ड्रिलिङको कार्य सकिएको छ। बहुप्रतीक्षित आयोजना पेट्रोलियम अन्वेषण अन्र्तगत अन्वेषणात्मक ड्रिलिङ सकिएसँगै ग्यासको भण्डारण रहेको संकेत देखिएको छ।
चार हजार पाँच सय मिटर गहिराइमा खनिने भनिए पनि ४ हजार १३ मिटरको गहिराइमा पुगेपछि ऐतिहासिक उपलब्धि हासिल भएकाले ड्रिलिङ सकिएको खानी तथा भूगर्भ विभागले जनाएको छ।



विभागअन्तर्गत पेट्रोलियम अन्वेषण तथा प्रवर्धन केन्द्रका सिनियर डिभिजनल जियोलोजिस्ट डा गणेशनाथ त्रिपाठीले वैशाखदेखि सुरु गरिएको ड्रिलिङ कार्य पूरा भएको बताए। उनले कुल ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गरिएको र ग्यासको भण्डार भएको अनुमान गरिएको बताए।
नेपाल र चीन सरकारबीच भएको सम्झौताबमोजिम चाइना–एड अन वेल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट अन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सीजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीबाट अन्वेषणात्मक (वेल) ड्रिलिङ सुरु गरिएको थियो। ड्रिलिङ कार्यको गत वैशाख २३ गते संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औपचारिक उद्घाटन गरेका थिए।
पेट्रोलियम अन्वेषण आयोजनाका भूगर्भविद् प्रकाश लुइँटेलले असोज मसान्तसम्ममा ड्रिलिङ कार्य पूरा गर्न लक्ष्य राखिए पनि कडा चट्टानका कारण पुससम्म लम्बिएको बताए। प्राकृतिक ग्यास हुन सक्ने सम्भावना उच्च रहेको लुइँटेलको भनाइ छ।
उनले भने, ‘२ हजार ७ सय मिटर ड्रिलिङ भएपछि प्रत्येक दुई–दुई मिटर गहिराइबाट निस्किएका ढुंगा र माटो प्राविधिक टोलीले परीक्षण गरेको छ। त्यसबाट प्राप्त विवरणलाई संकलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीनवटा थप अध्ययन हुनेछ,’ भूगर्भविद् लुइँटेलले थपे, ‘हालसम्मको अध्ययनबाट दैलेखमा प्राकृतिक ग्यास हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका पर्याप्त आधारहरू प्राप्त भएको छ।’
यस्तै, डाक्टर त्रिपाठीका अनुसार चार हजार २ मिटर ड्रिलिङ सकिएसँगै ग्यासको भण्डारण रहेको संकेत देखियो र पछि थप ११ मिटर खनिसकेपछि त्यहाँबाट निस्किएको नमुना परीक्षणका लागि चीन पठाइएको छ।
नेपाल सरकार र चीन सरकारबीच पेट्रोलियम अन्वेषणको काम तीन चरणमा गर्नका लागि सम्झौता भएको र सोही अनुसार अगाडि बढिरहेको त्रिपाठीले बताए।
उनले भने, ‘पहिलो र दोस्रो चरणको काम सकिएको छ। पहिलो र दोस्रो चरणमा भएका अध्ययन अनुसन्धानका सम्पूर्ण तथ्य तथ्यांक राखेर विश्लेषण गरेर निष्कर्षसहितको अन्तिम प्रतिवेदन तयार पार्नुपर्नेचाहिँ तेस्रो चरणको काम हो।’
पेट्रोलियम उत्खनन् तथा अन्वेषणबाट हालसम्म चीन पठाइएका नमुनाहरूको परीक्षण भएपछि सत्यतथ्य डाटाहरू समावेशसँगै विश्लेषणसहितको प्रतिवेदन तयार पारेर चिनियाँ कम्पनीले नेपाल सरकारलाई बुझाउने डा त्रिपाठीले जानकारी दिए।
चिनियाँ कम्पनीले प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेपछि निर्णायक रूपमा ग्यास भण्डार भए नभएको निष्कर्षमा पुगिनेछ। उक्त प्रतिवेदन आउन करिब एक महिना लाग्ने र त्यहाँसम्म धैर्य गर्नुपर्ने त्रिपाठीले बताए। ड्रिलिङको अन्तिम नतिजा प्राप्त भएपछि भण्डार क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढाइनेछ।



