चीनले नाका बन्द गर्दा नेपाली भूमिबाटै मानसरोवर दर्शन

२०७९ भाद्र ११, शनिबार
पढ्ने समय : 2 मिनेट

भदौ ११,
कोरोना महामारी र चीनले नाका बन्द गर्दा ३ वर्षदेखि रोकिएको मानसरोवर–कैलाश तीर्थयात्रा सुरु भएको छ । तीर्थयात्राका लागि झन्डै १२ सय जनाले बुकिङ गराएका छन । चीनले नाका बन्द गरेका कारण ७ सय ८१ जना भारतीय तीर्थयात्री र ४ सय ८९ जना विदेशी पर्यटकले नेपाली भूमि लाप्चाबाटै मानसरोवर–कैलाशको दर्शन गर्ने भएका हुन ।

मंगलबार यता झन्डै २ सय तीर्थयात्री मानसरोवर कैलाश यात्राका लागि सिमकोट आइपुगेका छन । चिनियाँ नाका बन्द नहुँदासम्म तीर्थयात्री हिल्सा हुँदै मानसरोवर–कैलाश यात्रामा जाने गरेका थिए । तर चीनले नाका नखोलेपछि हुम्लाको नाम्खा गाउँपालिकामा पर्ने लिमी लाप्चाबाटै कैलाश दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

कोरोना महामारीका कारण २ वर्ष तीर्थयात्रा बन्द भयो । गत वर्ष इशा फाउन्डेसनका प्रमुख एवं भारतीय सन्त सद्गुरु परीक्षणका लागि ५५ जनाको टोलीसहित सिमकोटबाट ८ दिन हिँडेर लिमी लाप्चा पुगेका थिए । उनकै पहलमा फाउन्डेसनमै आबद्ध १२ सय तीर्थालु मानसरोवर दर्शनका लागि नेपाल आउन लागेका हुन । उनी यो वर्ष पनि झन्डै ६० जनाको टोलीसहित सेप्टेम्बर पहिलो साता हुम्ला आउनेछन ।

तीर्थयात्रा व्यवस्थापनको जिम्मा लिएको ट्रेकर सोसाइटीका प्रवन्ध निर्देशक जितेन्द्र बस्नेतले तीर्थयात्रीको टोली १२ दिनको प्याकेजसहित नेपाल आउन लागेको बताए । उनका अनुसार तीर्थयात्रीहरूले काठमाडौंमा ३, पोखरामा २ र नेपालगन्जमा १ दिन बिताउनेछन् भने हुम्लामा ६ दिनको प्याकेज राखिएको छ ।

यो वर्ष सबैभन्दा बढी भारतको तमिलनाडु, केरला र कर्नाटकका तीर्थयात्रीले प्याकेज बुकिङ गराएको उनले जानकारी दिए । उनीहरूसँगै अमेरिका, रसिया र सिंगापुरका तीर्थयात्री त्यहाँ जान लागेका हुन । ‘भारतीय तीर्थयात्रीको त यसअघि पनि आकर्षण नै थियो,’ उनले भने, ‘यो वर्षदेखि हिन्दु धर्ममा आस्था राख्ने विदेशीहरू मानसरोवर जान लालायित देखिए ।’ तीर्थयात्रीहरू एकदेखि डेढ लाख रुपैयाँको प्याकेजमा मानसरोवर कैलाश दर्शनमा जान लागेका हुन । आगामी सेप्टेम्बर २० सम्मका लागि तीर्थयात्रुका लागि बुकिङ खुला गरिएको उनले जानकारी दिए । तर सेप्टेम्बर ११ सम्म सबै तीर्थयात्री सिमकोट पुगिसक्नेछन ।

दैनिक ५० देखि ६५ जना तीर्थयात्रुलाई हुम्ला आउने व्यवस्था मिलाइएको सिमकोटका पर्यटन व्यवसायी विजय लामाले बताए । उनका अनुसार उनीहरूलाई एक दिन सिमकोटको बासपछि हिँडाएर हेप्काखोला पु¥याइनेछ ।

हेप्काबाट गाडीमा लेकढिङ्गा पु¥याएर त्यहाँबाट हेलिकोप्टरमा तुम्लिङको ढाक्ची पु¥याउने उनले जानकारी दिए । ढाक्चीबाट गाडीमा लिमी लाप्चा पु¥याएर मानसरोवर दर्शन गरेका उनीहरू त्यही दिन ढाक्ची फर्किने उनको भनाइ छ । ‘फर्कंदा पनि त्यही रुट हुँदै फर्काइनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय